मोर्चा तत्कालै सरकारमा नजाने

212

काठमाडौँ, २९ असार – माओवादी केन्द्रले सरकारबाट समर्थन फिर्ता लिएसँगै संघीय गठबन्धनमा आबद्ध तराई केन्द्रित दलहरुले भावी सरकारमा पनि आफूहरु सहभागी नहुने संकेत गरेका छन्।

सरकार गठनको कसरतमा लागेका नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले तराईमा देखिएको असन्तुष्टि सम्बोधन गर्ने बताइरहेका बेला तराई केन्द्रित दलका नेताहरुले अब बन्ने सरकारले पनि आफ्ना मागहरु पूरा गर्न नसक्ने बताएका हुन्।

संघीयता कार्यान्वयनका लागि राष्ट्रिय सरकारको आवश्यकता भएको बताउँदै तराई केन्द्रित दलहरुले चार वर्षयता प्रमुख राजनीतिक दलहरुले सत्ताको राजनीति मात्र गरिरहेको आरोप लगाएका छन्।

सरकार परिवर्तनको पछिल्लो खेल पनि सत्तामा पुग्नका लागि मात्र भएको र त्यसले तराईमा देखिएको समस्या समाधान नगर्ने ती दलका नेताहरुको तर्क छ।

संशोधन

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले भने, “पहिलो कुरा त सरकार बन्नुपर्यो। संविधानलाई पुनर्लेखन गर्ने, संशोधन गर्ने या परिवर्तन गर्न तयार रहनुपर्यो। अहिले मिलिजुली संविधान जारी गर्ने त उहाँहरुनै हो। त्यसले गर्दा प्रधानमन्त्री वा कुर्सीको मात्र परिवर्तनले हो भने त्यसले केही फरक पार्दैन।”

अब बन्ने सरकारमा सहभागी हुने कुनै सम्भावना नभएको ती दलका नेताहरुले बताएका छन्।

आफूहरुको मुख्य मागका रुपमा रहेको संविधान संशोधन लगायतका मुद्दाहरु सम्बोधनका लागि राष्ट्रिय सरकार बन्नुपर्ने र त्यसको एउटा पक्ष नेकपा एमाले समेत हुनुपर्ने सद्भावना पार्टीका सह-अध्यक्ष लक्ष्मणलाल कर्णले बताए।

आन्दोलन जारी

उनले भने, “अहिले त बहुमतीय सरकार कांग्रेस र प्रचण्डजीको सरकार बनेपछि पनि मलाई लाग्छ एमाले पनि नितान्त आवश्यक हुन्छ। संविधान संशोधनमा उसको पनि नितान्त आवश्यकता हुनेछ।”

लामो समयसम्म तराईमा आन्दोलनको स्वरुप परिवर्तन गर्दै तराई केन्द्रित दलहरुले अन्य कतिपय दलहरुको पनि सहयोग लिएर संघीय गठबन्धन बनाई अहिले काठमाण्डू केन्द्रित आन्दोलन गरिरहेका छन्।

सरकार परिवर्तन भएपनि उनीहरुले आन्दोलन जारी रहने बताएका छन्। बिबिसी