माग सम्बोधन हुने बित्तिकै सरकारमा जान्छौ : कर्ण

1116

काठमाडौँ, ३० असार – संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता लक्ष्मणलाल कर्णले आफ्ना माग सम्बोधन हुने बित्तिकै मोर्चा नयाँ सरकारमा सहभागी हुने बताएका छन्।

बिहीबार रिपोर्टर्स क्लबले गरेको कार्यक्रममा कर्णले भने,‘केपी शर्मा ओली नेतृत्वको सरकार ढल्नैपर्ने थियो, हामी ओलीको विपक्षमा मत हाल्छौँ, मधेसी मर्दा आँप झर्‍यो भन्ने सरकार ढल्दा सिंगो मधेस यतिबेला खुसी छ, म भर्खरै मधेसबाट आएको छु, सरकार ढलेकोमा मधेसीहरु खुसियाली मनाइरहका छन्।’

कांग्रेस–माओवादी केन्द्रको गठबन्धनमा बन्ने सरकारमा मधेशी मोर्चा सहभागी हुन्छ कि हुँदैन भन्ने जिज्ञासामा उनले मोर्चाले उठाएका माग सम्बोधन भएपछि सरकारमा सहभागी हुने बताए। ‘हामी राजनीतकर्मी हौँ, हामी मठमन्दिरको पूजा गर्न आएका जोगी होइनौं, सन्यासी भएर बसिरहन हामीले राजनीति गरेकै होइन, हामी बाहिर बस्नुपर्छ भन्ने केही छैन, संविधानमा हाम्रो अधिकार सुनिश्चित भएको भोलिपल्टै हामी सरकारमा जान्छौं।’ अधिकारलाई पुर्नस्थापित नभएसम्म सरकारमा सहभागी नहुने उनले बताए।

यद्यपि कांग्रेस र माओवादीसँग मधेसी मोर्चाको पूर्ण विश्वास नभएको उनले टिप्पणी गरे। ‘उनीहरुले हामीसँग कुरा गरेकोले भोट दिन्छौं, अब काम गरेपछि साथ दिन्छौं, सरकारमा पनि जान्छौं’, कर्णले भने।

ओलीविरुद्धको अविश्वासको प्रस्तावमा कांग्रेस–माओवादीलाई साथ दिने र नयाँ प्रधानमन्त्री बनाउन संसदमा भोट हाल्ने उनले बताए। प्रधानमन्त्रीको विरुद्ध अविश्वासको प्रस्ताव पेश भइसकेकोले ओली अल्पमतको परेकाले नैतिकताको आधारले राजीनामा नदिनु संसदीय प्रक्रिया विपरीत भएको उनले बताए।