संविधानअनुसार नयाँ सरकार बन्न नसक्ने प्रधानमन्त्री ओलीको तर्क

186
केपी ओली, प्रधानमन्त्री । फाइल तस्वीर: रासस

काठमाडौँ, ३० असार – प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान बमोजिम नयाँ सरकार गठन हुन नसक्ने तर्क गरेका छन्। नेकपा एमाले संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वमा सरकार रहँदा रहँदै अर्को सरकार गठन हुन नसक्ने बताएको एमाले प्रमुख सचेतक भानुभक्त ढकालले जानकारी दिए।

सरकारविरुद्ध अविश्वासको प्रस्ताव आएपछि भावी रणनीति तय गर्न बिहीबार बसेको एमाले संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले यस्तो धारणा राखेका हुन्।

प्रधानमन्त्री ओलीले बैठकमा पछिल्लो घटनाक्रमबारे जानकारी दिँदै एक घण्टा बोलेका थिए। संसद भवन नयाँ बानेश्वरमा बसेको बैठकमा विदेशी इशारामा सरकार ढाल्ने गतिविधि भएको आरोप समेत प्रधानमन्त्रीले लगाए। उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक बेइमानी गरेको आरोप लगाए। ‘विदेशीकै इशारामा माओवादीले एमाले नेतृत्वको सरकार ढाल्ने खेल खेलेको हो। बास्तविकता नै यही हो’, प्रधानमन्त्री ओलीले भने।

उनले अविश्वासको प्रस्तावमा सरकारमाथि लगाइएका आरोप अनुचित भएको बताए। ‘संसद्मा कांग्रेस-माओवादीले अविश्वासको प्रस्ताव दर्ता गर्दा गरेर जेजे कुरा उठाएका छन्, ती अनुचित छन्। पूर्णतः आग्रहमा आधारित छन्’, प्रधानमन्त्रीले अविश्वासको प्रस्तावको खण्डन गर्दै भने, ‘ती कुरालाई हामी समर्थन गर्दैनौं। असत्य कुरालाई समर्थन गर्ने कुरा भएन, त्यसको हाउसमा डटेर सामना गर्छौं।’

माओवादी केन्द्रले सरकारको समर्थन फिर्ता लिएलगत्तै मंगलबार संसद सचिवालयमा दर्ता भएको अविश्वासको प्रस्तावलाई डटेर सामना गर्ने निर्णय गरेको एमालेका सचेतक गोकुल घर्ती मगरले जानकारी दिए।

बैठकमा नेता माधवकुमार नेपाल र झलनाथ खनाल पक्षधर नेताहरुले प्रधानमन्त्रीले राजीनामा गरेर नयाँ सरकार गठनका लागि बाटो खोल्न उचित हुने सुझाव दिए भने ओली पक्षले संसदमा आफ्ना कुरा र कामको फेहरिस्त प्रस्तुत गरेरमात्र सरकारबाट बाहिरिन उचित हुने धारणा राखेका छन्।