गच्छदार नयाँ सरकारमा जाने कसरतमा

226
फाइल तस्बिर

काठमाडौं, ३१ असार – मधेसी जनाधिकार लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार नयाँ सरकारमा जाने कसरतमा लागेका छन् । गच्छदार एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारमा उपप्रधानमन्त्री छन् ।

अल्पमतमा परेको ओली सरकार विस्थापित भइ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा नयाँ सरकार बन्ने निश्चित भएपछि गच्छदार नयाँ सरकारमा जाने कसरतमा लागेका हुन् ।

वर्तमान सरकारमा उपप्रधान तथा भौतिक योजना तथा यातायात मन्त्री रहेका गच्छदार नयाँ सरकारबारे छलफल गर्न शुक्रबार विहान प्रचण्ड निवास लाजिम्पाट पुगेका थिए ।

नयाँ संविधान जारी हुनुअघि प्रमुख दलहरुबीचको सम्झौतामा हस्ताक्षर गरेका गच्छदार संविधान जारी गर्नेबेलामा असन्तुष्ट जनाउँदै मधेस आन्दोलन लागेका थिए । सिमांकनमा असन्तुष्टी जनाउँदै आन्दोलन गएका गच्छदार पुनः उपप्रधानमन्त्री हुँदै ओली सरकारमा सहभागी भएका थिए ।

गच्छदारसँगको भेटमा प्रचण्डले संसद सचिवालयमा दर्ता भएको सरकारको अविश्वासको प्रस्तावको पक्षमा समर्थन जनाउन आग्रह गरेका थिए । गच्छदारले यस विषयमा पार्टीमा छलफल गर्ने जवाफ दिएको प्रचण्डलाई उद्धृत गर्दै प्रचण्डको निजी सचिवालयले जनाएको छ ।