एमसीसीलाई ४१ रनले पराजित गर्दै नेपाल विजयी

344

काठमाडौँ, ४ असार – क्रिकेटको घर मानिने बेलायतको लर्डस् मैदानमा नेपालले मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) लाई पराजित गर्दै सुःखद नतिजा निकालेको छ ।

मंगलबार राती सम्पन्न खेलमा एमसीसीलाई ४१ रनले पराजित गर्दै नेपाल विजयी बनेको हो । नेपालले दिएको २१८ रनको लक्ष्य पछ्याएको एमसीसी १७६ रनमा अलआउट भयो ।

एमसीसीका ब्याट्सम्यान अधिरले सतकीय इनिङ खेलेपनि हार टार्न सकेनन् । उनले १२३ बलको सामना गर्दै १०० रन जोडेका हुन् । तर एमसीसीका अन्य ब्याट्सम्यान भने नेपाली बलर सामु टिक्न सकेनन् । एमसीसीको ब्याटिङ ध्वस्त बनाउने क्रममा नेपालका बलर सागर पुन र बसन्त रेग्मीले समान तीन–तीन विकेट लिए भने सोमपाल कामीले २ विकेट लिए ।

यस्तै शक्ति गौतम र सन्दीप लामिछानेले समान एक–एक विकेट लिए । यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा २१७ रन बनाएको थियो । चौथो ओभरको सुरुवातीमै ओपनर अनिल मण्डललाई व्यक्तिगत दुई रनमा गुमाएको नेपालका लागि अर्का ओपनर ज्ञानेन्द्र मल्ल ३९ रन बनाउँदै पारी सम्हालेका थिए ।

त्यस्तै कप्तान पारस खड्काले ३० शरद भेषावकरले २७, सागर पुनले २६, अविजित रहेका वसन्त रेग्मी र राजु रिजालले समान २४ तथा सोमपाल कामीले २० रन बनाएपछि नेपालको सम्मानजनक स्कोर खडा भएको थियो । त्यसैगरी विनोद भण्डारीले नौ रन बनाएका थिए भने शक्ति गौचन शून्य रनमा अविजित रहेका थिए ।

नेपाल र बेलायतबीच कूटनीतिक सम्बन्ध स्थापना भएको २०० वर्ष पूरा भएको उपलक्ष्यमा ‘क्रिकेटको घर’का रूपमा परिचित लर्डस्मा नेपाली टोलीले त्यहाँको घरेलु क्रिकेट क्लबसँग खेल्ने अवसर पाएको हो । लर्डस् विश्वकै सबभन्दा पुरानो क्रिकेट मैदान हो भने मेरिलेबोन पनि पुरानो क्रिकेट क्लब हो ।   तसर्थ यस्तो ठाउँमा नेपालले खेल्न पाउनु नै पनि  ठूलो उपलब्धि भएको बताइएको छ ।