डा. केसीका राजनीतिक मागमा सहमत छैनौँ : कांग्रेस

262

काठमाडौँ, ४ साउन – नेपाली कांग्रेसले त्रिवि शिक्षण अस्पतालमा १० दिनदेखि अनसनमा बसेका डा. गोविन्द केसीको राजनीतिक मागमा आफ्नो सहमति नभएको स्पष्ट पारेको छ। मंगलबार सानेपास्थित केन्द्रीय कार्यालयमा बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले डा. केसीले उठाएका राजनीतिक मागमा आफ्नो सहमति नभएको जनाएको हो।

कांग्रेसको ६ बुँदे सहमतिमा ४ नम्बर बुँदामा डा. केसीको अनसनबारे उल्लेख छ। ‘शिक्षण अस्पताल महाराजगञ्जमा वरिष्ठ चिकित्सक प्रा.डा. गोविन्द के.सी. केही दिनदेखि विभिन्न माग राखी आमरण अनसनमा बस्नुभएको प्रति नेपाली कांग्रेसको ध्यानाकर्षण भएको छ’, निर्णयमा भनिएको छ, ‘मागहरुको प्रकृति राजनीतिक र चिकित्सा शिक्षा सम्बन्धी रहेको देखिन्छ। राजनीतिक मागहरु प्रति हाम्रो सहमति रहेको छैन। चिकित्सा शिक्षा लगायत गैर राजनीतिक मागहरु सम्बन्धमा नेपाली कांग्रेसको नेतृत्वको सरकारले विगतमा गरेका प्रतिवद्धता अनुरुप समाधान गरी अविलम्व अनसन अन्त्य गराउन नेपाल सरकारको ध्यानाकर्षण गराउँदछ।’

स्वास्थ्य क्षेत्रमा सुधारका माग राखेर आठौँपटक अनसन बसेका डा. केसीले यसपटक अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउन माग गरेका छन्।

बैठकमा अधिकांश केन्द्रीय सदस्यहरुले डा. केसीका चिकित्सा शिक्षा सम्बन्धी माग पूर्ववर्ती सुशील कोइराला नेतृत्वको सरकारले गठन गरेको आयोगको प्रतिवेदन बमोजिम भएकाले त्यस्ता माग पूरा गराउन सरकारलाई दबाब दिनु पर्ने बताएका थिए।

तर केन्द्रीय सदस्यहरु अर्जुननरसिंह केसी, गगन थापा, महेश आचार्य, डा. नारायण खड्का, प्रदीप गिरी लगायतले गोविन्द केसीले उठाएका सबै माग सम्बोधन गर्ने गरी कांग्रेसले दवाव दिनु पर्ने धारणा राखेका थिए।

केन्द्रीय सदस्यहरु बिमलेन्द्र निधि, डा. मिनेन्द्रप्रसाद रिजाल लगायतले डा. केसीको राजनीतिक माग कुनै हालतमा पूरा गर्न नसकिने बताए। सभापति देउवाले केसीको राजनीतिक प्रकृतिबाहेकका माग जायज भएकोले पुरा गर्न दवाव दिनु पर्ने बताए। उनले भने ‘संसदले गर्ने जिम्मेवारी भने केसीले संसदलाई छोडिदिनु पर्छ। त्यो माग संसदको विशेषाधिकार भित्र पर्छ।’ देउवाले अनसन बसिरहेका डा. केसीको स्वास्थ्यको विषयलाई भने मानवीय संवेदनशीलताको रुपमा हेर्नुपर्ने धारणा राखेका थिए।