नेपालले आज लर्डस्‌मा क्रिकेट खेल्दै

462

काठमाडौँ, ४ साउन – बेलायत भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले आज लर्डस् क्रिकेट मैदानमा मेरीलेबोन क्रिकेट क्लब एमसीसीसँग मैत्रीपूर्ण खेल खेल्दैछ।

खेल नेपाली समय अनुसार सवा ३ बजे सुरु हुनेछ। नेपाल र बेलायतबीचको दौत्य सम्बन्ध स्थापनाको २ सय वर्ष पुगेको अवसरमा नेपालले एमसिसीसँग एकदिवसीय खेल खेल्न लागेको हो।

नेपालका कप्तान पारस खड्काले लर्डस् मैदानमा विश्वकै पुरानो क्रिकेट क्लबसँग खेल्न पाउनु नेपालका लागि ऐतिहासिक क्षण रहेको भन्दै उत्कृष्ट प्रदर्शन गर्ने हरसम्भव प्रयास गरिने बताएका छन्। लर्डस्‌मा आज हुने एमसीसी विरुद्धको खेल विश्वलाई नेपाली टोलीको क्षमता देखाउने अवसर र चुनौती दुवै रहेको उनको भनाई छ।

नेपालले बेलायतमा ४ वटा अभ्यास खेल खेलिसकेको छ। चारैवटा खेलमा जित हात पारेकाले पनि एमसीसी विरुद्धको आजको खेलमा उच्च मनोबलका साथ मैदान ओर्लिने तयारीमा नेपाली टोली रहेको छ।

असार २७ गते बेलायत गएको नेपालले बेलायत भ्रमणलाई विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तर्गत साउन २९ र ३१ गते नेदरल्याण्डस् विरुद्ध हुने खेलको तयारीका रुपमा लिएको छ।