लक्ष्यभन्दा ७ अर्ब बढी राजस्व संकलन : अर्थ मन्त्रालय

822

काठमाडौँ, ४ साउन – नाकाबन्दीका कारण करिब तीन महिना आयात निर्यात प्रभावित भएपनि सरकारले आर्थिक वर्ष २०७२/७३ मा लक्ष्यभन्दा ७ अर्ब बढी राजस्व संकलन गरेको छ। ४ खर्ब ७५ अर्ब  लक्ष्य रहेकोमा ४ खर्ब ८२ अर्ब असुली भएको अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जानकारी दिए।

भूकम्प र नाकाबन्दीका कारण अर्थतन्त्र शिथिल भएका कारण राजस्व संकलन कम हुने अनुमान गरिएपनि अर्थ मन्त्रालयले विशेष कार्ययोजना ल्याएका कारण लक्ष्यभन्दा बढी राजस्व संकलन गर्न सफल भएको उनले बताए।

आर्थिक बर्ष २०७२/७३ मा राजश्व असुलीमध्ये कर राजश्व तर्फ ४ खर्ब २२ अर्ब १६ करोड र गैरकर तर्फ ६० अर्ब २ करोड असुली भएको छ। आयकर तर्फ अघिल्लो आर्थिक बर्षको २०७२/७३ मा ३१ प्रतिशतले बृद्धि भएको छ। अर्थतन्त्र शिथिल भएको र आर्थिक गतिविधिहरु पूर्ण रुपले सञ्चालनमा आउन नसकेको अवस्थामा पनि सरकारले सबै क्षमता र प्रयासहरुलाई उपयोग गर्दा राजश्वको लक्ष्य पुग्न सक्ने प्रमाणित भएको अर्थमन्त्री पौडेलको दावी छ।

सरकारले राजश्व संकलन लक्ष्य अनुसार कम हुने अनुमान गरेसँगै दूरसञ्चार प्राधिकरणको कोषमा रहेको साढे ६ अर्ब विकास निर्माणमा लगाउने निर्णय गरेको थियो। गत आर्थिक वर्ष नै एनसेल खरिद विक्री बापतको १० अर्ब पूजीगत लाभकर जम्मा भएको थियो। कर बुझाउने नियमित प्रक्रिया अनुसार नै यो रकम जम्मा भएकाले यसकै कारण राजश्व संकलन लक्ष्य भन्दा धेरै भएको भन्न नमिल्ने अर्थ मन्त्रालयका राजस्व सचिव राजन खनालले बताए।