कांग्रेसद्वारा प्रधानमन्त्री ओलीलाई मार्ग प्रसस्त गर्न आग्रह

135

काठमाडौँ, ४ साउन – कांग्रेसले सरकार परिवर्तनको औचित्य पुष्टि गर्ने नेपाली कांग्रेसले संविधानको मर्मअनुसार राजीनामा दिदै नयाँ सरकार गठनका लागि मार्ग प्रसस्त गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेको छ ।

कांग्रेसले राजनीतिक तिक्तता अन्त्य गर्दै सहमतिका साथ अगाडि बढ्ने निश्कर्ष समेत निकालेको छ । संवैधानिक ब्यवस्थाअनुसार सरकार परिवर्तन हुन लागेकाले त्यसलाई अनर्गल प्रचार नगर्न सत्ताको नेतृत्वकर्ता दल एमालेलाई उसको आग्रह छ । दलहरुबीच गत बर्षको जेठ २५ गते भएको १६ बुँदे सहमतिको १० नम्बरमा समेत सरकारबिरुद्ध अविश्वास प्रस्ताव ल्याउने उल्लेख भएको स्मरण गराउदै कांग्रेसले सहमतिको मर्मअनुसार राजीनामा दिन प्रधानमन्त्री ओलीलाई आग्रह गरेको हो ।

ललितपुरको सानेपास्थित पार्टी मूख्यालयमा आज बसेको कांग्रेस केन्द्रीय समितिको बैठकले नेकपा माओवादी केन्द्रसँग मिलेर सरकार निर्माणको पछिल्लो प्रयास संविधानसम्मत भएको निश्कर्ष निकालेको हो । बैठकपछि सञ्चारकर्मीसँग नेता महेश आचार्यले  बिहीवारबाट संसदमा सुरु हुने अविश्वासप्रस्तावमाथिको छलफलका क्रममा कांग्रेसले सरकार परिवर्तनको औचित्य पुष्टि गर्ने बताए । सत्तासमिकरण परिवर्तन हुने भएपछि दलहरुबीच बढेको दुरी अन्त्यका लागि राजनीतिक सहमति कायम गर्न कांग्रेसले पहलकदमी लिने निर्णय गर्दै कांग्रेसले त्यसका लागि बिभिन्न दलहरुसँग छलफल गर्ने निश्कर्ष निकालेको नेता आचार्यले जानकारी दिए ।

यस्तै कांग्रेसले पर्सिबाट संसदमा सुरु हुने अविश्वास प्रस्तावमाथिको छलफलमा प्रभावकारी रुपमा प्रस्तुत हुन सांसद समेत रहेका केन्द्रीय सदस्यहरुलाई निर्देशन दिएको छ ।