माथेमा आयोगको प्रतिवेदन खारेज गर्न मधेसी विद्यार्थीहरुको माग

1165

काठमाडौँ, ५ साउन – चिकित्सा शिक्षा अध्ययन संस्थान आइओएममा अध्ययनरत मधेसी विद्यार्थीहरुले अनसनरत डा. गोविन्द केसीको मागमध्ये माथेमा आयोगको प्रतिवेदन कार्यान्वयनको विषयमा आफुहरुको सहमति नरहेको बताएका छन्।

उनीहरुले प्रतिवेनले समावेशिता र आरक्षणको विषय स्वीकार नगरेकाले आफुहरुले उक्त मागमा सहमति नजनाएको विज्ञप्ती मार्फत जनाएका छन्। आइओएम मधेसी विद्यार्थी समाजले माथेमा आयोगको प्रतिवेदन एउटै मात्र समुदायको प्रतिनिधित्व हुने गरी बनाइएको आरोप लगाएका छन्।

अध्यक्ष डा.  विनय पञ्जियारले जारी गरेको विज्ञप्तीमा भनिएको छ ‘प्रतिवेदन कुनैपनि हालमा मधेसी आदिवासी जनजाति दलित थारु मुस्लिमको हितमा हुनै सक्दैन त्यसैले यसको खारेजीको माग गर्दछौं।’ विज्ञप्तीमा प्रतिवेदन अदूरदर्शी र राष्ट्रियतालाई नै कमजोर बनाउने भएको भन्दै पुन अध्ययन गर्न माग गरिएको छ।

उनीहरुले चिकित्सा शिक्षा सुधारको माग राखेर अनसनरत डा. गोविन्द केसीको अरु मागमा समर्थन रहेपनि माथेमा आयोगको प्रतिवेदन कार्यान्वयनको मागमा भने समर्थन गर्न नसक्ने बताएका छन्। ‘प्रा. डा. केसीको अरु मागहरुमा हाम्रो पनि समर्थन रहनेछ मेडिकल शिक्षा जोगाउन समावेशिता र आरक्षण मात्र एउटा विकल्प बाँकी छ। यसले भ्रष्टाचार र बेथितीलाई पनि निर्मुल पार्न सघाउँछ।’

विद्यार्थीहरुले बिहीबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र संसदको महिला बालबालिका तथा समाजकल्याण समितिकी सभापति रञ्जु झा लाई आफुहरुको माग संबोधनका लागि पहल गरिदिन  ज्ञापन पत्र बुझाएका छन्।