प्रधानमन्त्रीका लागि बुधबार चुनाव, उम्मेदवारी दर्ता भोलि

169

काठमाडौँ, साउन – नयाँ प्रधानमन्त्री चयनका लागि व्यवस्थापिका संसदमा पर्सी बुधबार निर्वाचन हुने भएको छ ।

सहमतीय सरकार गठन गर्न दलहरु असफल भएपछि राष्ट्रपति विद्या भण्डारीले बहुमतीय सरकार गठनका लागि संसदमा रहेका दलहरुलाई आहृवान गरेकी छिन् ।

सोमबार नै बसेको संसदको बैठकमा सभामुख ओनसरी घर्तीले प्रधानमन्त्री चुनावका लागि १९ गते विहान ११ बजेको बैठक तोकेकी छन् ।

साथै निर्वाचनका लागि आवश्यक प्रक्रिया सुरु गर्न महासचिव मनोहरप्रसाद भट्टराईलाई निर्देशन दिएकी छन् । लगतै संसद सचिवालयले प्रधानमन्त्री निर्वाचनको कार्यक्रम सार्वजनिक गरेको छ ।

जस अनुसार प्रधानमन्त्रीका लागि भोलि मंगलबार उम्मेदवारी दर्ता गर्ने समय तोकिएको छ । ल्होत्से हलमा विहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म उम्मेदवारी दर्ता गर्न सक्नेछन् ।

साढे ४ बजे उम्मेदवारको सूची सार्वजनिक गरिनेछ । बुधबारको विहान ११ बजेको बैठकले प्रधानमन्त्री चयन गर्नेछ ।