बहुमतीय सरकार बनाउन संसदलाई राष्ट्रपतिको पत्र

204

वीरगञ्ज, साउन – बहुमतका आधारमा प्रधानमन्त्री चयन प्रक्रिया सुरु गर्न भन्दै व्यवस्थापिका संसद्लाई राष्ट्रपति विद्यादेवी भण्डारीले पत्र पठाएकी छन् ।

राष्ट्रपति भण्डारीले यही साउन १० गते प्रमुख दललाई सहमतिका आधारमा प्रधानमन्त्री चयन गर्न आग्रह गरेकी थिइन् । राष्ट्रपतिले दिएको समयसीमा आइतबार सकिएपछि पुनः बहुमतका आधारमा प्रक्रिया अगाडि बढाउन आग्रह गरेकी हुन् । सहमतीय सरकार बनाउन तोकिएको सात दिनको समयसीमामा सहमति हुन नसकेपछि राष्ट्रपति भण्डारीले सोमबार व्यवस्थापिका–संसद् सचिवालयलाई पत्र पठाएर बहुमतका आधारमा प्रधानमन्त्री चयन प्रक्रिया सुरु गर्न आग्रह गरेकी हुन् ।

नेपालको संविधानको धारा ३०५ को बाधा अड्काउ फुकाउ आदेश तथा संविधानको धारा २९८ को उपधारा ३ बमोजिम बहुमतका आधारमा प्रधानमन्त्री चयन गर्न राष्ट्रपति भण्डारीले पत्र पठाएकी सभामुख ओनसरी घर्तीका प्रेस सल्लाहकारले बताए ।

राष्ट्रपतिको पत्र प्राप्त भएपछि संसद् सचिवालयले प्रधानमन्त्री चयनको कार्यतालिका तयार गर्नेछ । सचिवालयले यही बुधबार नयाँ प्रधानमन्त्री चयन हुने गरी प्रक्रिया सुरु गर्न लागेको जनाएको छ । व्यवस्थापिका–संसद्को बैठक आजै अपराह्न ३ बजेका लागि बोलाइएको छ ।

आज प्रक्रिया अघि बढेपछि १९ गते संसदमा हुने चुनावी प्रक्रियाबाट प्रचण्ड देशको नयाँ प्रधानमन्त्री हुने करिब पक्कापक्की जस्तै छ ।