मोर्चाले पर्सि प्रचण्डलाई मतदान गर्छ : अध्यक्ष यादव

153

काठमाडौं, साउन – फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले मोर्चाले प्रचण्डको पक्षमा मतदान गर्ने स्पष्ट पारे । उनले अघि थपे,‘लिखित प्रतिबद्धता आए हामी मतदान गर्छौं ।’

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले मोर्चाका लागि सरकारभन्दा पनि आफ्ना एजेण्डा महत्वपूर्ण कुरा भएको उल्लेख गरे । उनले भने,‘सरकारभन्दा बाहिर बसेर तर यसको सहयोगी भएर काम गर्छौं ।’

यादवले संविधानको स्वामित्वलाई फराकिलो बनाउनका लागि पनि मुद्दामा राष्ट्रिय सहमति गर्नुपर्ने धारणा राखे । यद्धपी उनले अब बन्ने नयाँ सरकारलाई सहयोग गर्ने विषयमा एमाले र मोर्चाको भूमिकामा तात्विक फरक हुने दाबी गरे ।

उनले भने,‘हाम्रा मुद्दा सम्बोधन भयो भने हामी सत्तापक्षकै बेन्चमा बसेर सरकारलाई सहयोग गछौं ।’यादवले संसदीय पद्धतीमा संसद नै सार्वभौम भएकाले जनता र राष्ट्रको सरोकारका विषयमा कोही पनि छलफलबाट भाग्न नमिल्ने बताए ।