उपेन्द्रको विश्वास : नयाँ सरकारले माग पूरा गर्छ

158

काठमाडौँ, साउन – मधेसी मोर्चा सम्मिलित संघीय गठबन्धनका संयोजक उपेन्द्र यादवले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार बन्ने पक्का भएपछि मधेसी, आदिवासी जनजाति र उत्पीडित समुदायमा आशा जागेको बताएका छन्।

बुधबार संसद् बैठकमा बोल्दै उनले प्रचण्ड नेतृत्वको सरकारले आन्दोलनरत पक्षको माग सम्बोधन गर्ने आशा जागेको बताएका हुन्। ‘हुन त हिजो पनि आशा थियो, तर समस्याको समाधान भन्दा झन् समस्या अल्झियो र बल्झिँदै गयो’ उनले भने। मुलुकमा मधेसी, आदिवासी, खस, मुस्लिम, थारु र उत्पीडित वर्गको मुद्दा सम्बोधनविना मुलुकलाई शान्ति र समृद्धितिर लैजान नसक्नुका साथै राष्ट्रिय एकता कायम हुन नसक्ने यादवको दावी थियो।

‘अर्को खेलाडी नै नभएको गोलकिपरविहीन खेलमा प्रचण्डले गोल हान्ने निश्चित छ’ उनले भने, ‘आन्दोलनरत पक्षको माग नयाँ सरकारले सम्बोधन गर्नुहुनेछ भन्ने विश्वास छ।’

राज्यको बलप्रयोगबाट तराई मधेसमा भएको हत्या र हिंसाबारे छानबिन गर्न उच्चस्तरीय छानबिन आयोग गठन गर्ने कांग्रेस–माओवादीसँग सहमति भएको उनले बताए। अप्ठ्यरोमा सहमति गर्ने तर अप्ठ्यरो परिस्थिति गइसकेपछि ती सहमतिलाई बिर्सने संस्कार राम्रो नभएको उनले नयाँ सरकारले हालै भएको सहमति नबिर्सने विश्वास व्यक्त गरे।