प्रचण्डः जन्म देखि दोश्रो पटक प्रधानमन्त्री सम्म

173

काठमाडौँ, साउन – मूलुकको ३९ औं प्रधानमन्त्री निर्वाचित पुष्पकमल दाहाल प्रचण्डको जन्म वि.सं. २०११ साल मंसिर २६ गते कास्कीको ढिकुरपोखरी गाविस वडा नम्बर २ लिवाडेमा भएको थियो । मुक्तिराम दाहाल र भवानी दाहालका जेठा छोरा प्रचण्ड स्कुल पढ्दा देखि नै राजनीतिमा चाख राख्थे ।

पढाईमा अब्बल उनमा कक्षा १० मा पढ्दै गर्दा राजनीतिको बिउ अङ्कुराउन थालेको थियो । कक्षा १० मा अध्ययनरत हुँदा उनले छविलाल दाहाल नाम परिवर्तन गरी पुष्पकमल दाहाल नाम राखेका थिए । प्रचण्डले रामपुर कृषि क्याम्पस चितवनबाट कृषिमा बि.एस्सी गरी एम.पी.ए.सम्म गरेका छन् ।

वि.सं. २०१९ मा ढिकुरपोखरी–२ बाट चितवन भरतपुरको शिवनगर गा.वि.स.मा बसाईँ सरेका प्रचण्डको वि.सं. २०२६ बैशाखमा सीता पौडेलस सँग विवाह भयो । उनका अहिले दुई छोरी र एक छोरा छन् । ४२ वर्षदेखि नेपालको सक्रिय राजनीतिमा रहेका प्रचण्डले राजनीतिमा आउनुअघि झण्डै छ वर्ष शिक्षण र अमेरिकी सहयोग नियोग युएस एडमा काम गरेका थिए ।

२०२८ सालदेखि पुष्पलाल समूहबाट राजनीति शुरु गरेका प्रचण्ड २०३१ सालमा माक्र्सवादी समूह गठन गरेर २०३४ सालमा नेकपा चौथो महाधिवेशन(चौम)मा प्रवेश गरे । चौथो महाधिवेशनमा २०३५ सालदेखि पूर्णकालीन सदस्य बनेका प्रचण्ड २०३६ सालमा चितवन जिल्ला समितिको सदस्यमा निर्वाचित भए ।

२०३८ सालमा क्षेत्रीय व्युरो सदस्य र अखिल नेपाल युवक संघको महासचिव भएका प्रचण्ड २०४० सालमा संघको अध्यक्ष बने । युवक संघको अध्यक्ष बनेपछि पार्टी नेतृत्वमा पुग्ने उनको यात्रा निकै तीब्र गतिमा अघि बढेको पाईन्छ । २०४१ सालमा नेकपा मशालको पाँचौं महाधिवेशनबाट केन्द्रीय सदस्य, ०४२ मा पोलिट्ब्यूरो सदस्य बनेका प्रचण्ड २०४२ सालमा पार्टी विभाजनपछि मोहन वैद्य किरणतिर लागे ।

मोहन वैद्यले पार्टीको नेतृत्व गरेका बेला ०४५ सालमा सेक्टर काण्ड भएपछि नैतिकताका आधारमा वैद्यले पार्टी नेतृत्व छोडे लगत्तै पार्टी प्रमुख अर्थात ०४६ मा महामन्त्री बनेका प्रचण्ड हालसम्म पार्टीको प्रमुख नै छन् । २०४८ सालमा नेकपा एकताकेन्द्रको महासचिव भएका प्रचण्ड २०५१ मा नेकपा माओवादीको महासचिव र ०५७ मा भएको दोस्रो महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका थिए । २०६९ सालमा हेटौंडामा सम्पन्न राष्ट्रिय सम्मेलनबाट पनि अध्यक्ष पदमा निर्वाचित भएका उनी २०७० सालमा विराटनगरमा सम्पन्न एकताको महाधिवेशनबाट पुनःअध्यक्ष पदमा निर्वाचित भए । विभिन्न फुट र जुटको उतारचढावपछि उनी अहिले नेकपा माओवादी केन्द्रका अध्यक्ष छन् ।

२०५२ सालमा शुरु भएको सशस्त्र बिद्रोहको नेतृत्व गरेका प्रचण्ड राज्य सत्ता पल्टाउन गठन भएको सशस्त्र फौज (जनमुक्ति सेना, नेपाल)को सर्वोच्च कमाण्डर पनि बने । वि.सं. २०३८ देखि २०६३ सम्म भूमिगत अवस्थामा रहँदा कल्याण, विश्वास, निर्माण र प्रचण्ड नाम रहेको थियो । हाल उनी आफू पुष्पकमल भन्दा प्रचण्ड भनिनुमा नै गौरव गर्छन् । २०६३ साल असार २ गते २५ वर्षको भूमिगत जीवनबाट बालुवाटारमा सार्वजनिक भएका प्रचण्ड २०६३ साल साउन ३१ गते गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्रीमा निर्वाचित भए । भदौ २ गते कार्यभार सम्हालेका प्रचण्ड ९ महिनामै पदबाट राजीनामा दिन बाध्य भए । २०६४ सालमा भएको संविधानसभा चुनावमा उनले काठमाण्डौ क्षेत्र नम्बर १० र रोल्पा क्षेत्र नम्बर २ बाट चुनाव जितेका थिए । २०७० मंसिरमा सम्पन्न दोस्रो संविधानसभा चुनावमा सिराहा क्षेत्र नम्बर ५ बाट निर्वाचित भएका हुन् ।

प्रचण्डका नेपाली क्रान्तिका समस्या (भाग १, २ र ३), संस्कृति, कला र सौन्दर्य चिन्तन, प्रचण्डका छानिएका रचनाहरु (खण्ड १ र २) तथा प्रचण्डका छानिएका सैन्य रचनाहरु लगायतका पुस्तक प्रकाशित छन् । पहिलो पटक प्रधानमन्त्री बनेको ९ बर्षपछि प्रचण्ड आज दोस्रो पटक मुलुकको प्रधानमन्त्री बनेका छन् ।