प्रचण्डको पहिलो भ्रमण भारत

147

काठमाडौं, साउन – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बुधबार मुलुकको ३९ औं प्रधानमन्त्रीमा निर्वाचित भएका छन् । दाहाल दोस्रोपटक प्रधानमन्त्री भएका छन् । प्रधानमन्त्रीमा निर्वाचित भएलगत्तै उनलाई यतिवेला राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरबाट बधाईको ओइरो लागिरहेको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले त दाहाल प्रधानमन्त्रीमा निर्वाचित भएलगत्तै फोन गरेर बधाई दिएका छन् । फोनमा मोदीले दाहाललाई बधाई मात्रै दिएनन्, बल्की दाहाललाई भारत भ्रमणको निम्तो समेत दिए । उनले दाहालको कार्यकालमा नेपाल–भारत सम्बन्धले नयाँ उचाई लिने र सम्बन्धमा आएको धुमिल र चिसोपनालाई चिर्न सफल हुने विश्वास समेत व्यक्त गरे ।

प्रधानमन्त्रीको रुपमा प्रचण्डले यसपटक भारत भ्रमण पहिला गर्ने निश्चित भएको छ । हुन त नेपाली राजनीतिमा प्रचण्डले पहिलो भ्रमण भारत गर्ने वा चीन गर्ने भन्नेबारेमा चर्चा तथा परिचर्चा सुरु भैसकेको छ । प्रधानमन्त्री निकट स्रोतका अनुसार प्रचण्ड यसपटक पहिलो भ्रमणको लागि भारत जाने तयारीमा छन् । भारतसँगको सम्बन्ध ऐतिहासिक रहेको र नेपालको राजनीतिक स्थायित्वको लागि पनि भारत र चीनसँग सन्तुलित सम्बन्ध राखेर अघि बढ्नुपर्ने प्रचण्डको धारणा रहेको छ । सम्भवतः प्रचण्ड एक महिनाभित्रै नयाँ दिल्ली पुग्नेछन् । २०६५ सालमा गणतन्त्र नेपालको प्रथम प्रधानमन्त्रीको रुपमा पहिलो भ्रमण चीन गरेका दाहालले यसपटकको पहिलो भ्रमणको रोजाईमा भारतलाई राखेको उनी निकट स्रोतले दाबी गरेको छ ।

भारत भ्रमणमा यसपटक प्रचण्डले उनका समकक्षी मोदीसँग खुल्ला रुपले आफ्ना भनाईहरु राख्ने बुझिएको छ । शान्ति प्रक्रियाका बाँकी कार्यभार पूरा गर्नेबारेमा समेत उनले मोदीसँग छलफल गर्ने कार्यतालिका बनाएका छन् । प्रधानमन्त्रीमा निर्वाचित भएसँगै दाहालले भारत भ्रमणको लागि कार्यतालिकाको खाका तयार पारिसकेका छन् । संयोग के भने यसपटक उनको मन्त्रिमण्डलमा पराष्ट्रमन्त्री बन्दैछन्, काँग्रेस नेता शेखर कोइराला । कोइराला तत्कालिन नेकपा माओवादी र सरकारवीच दिल्लीमा सम्पन्न भएकोे १२ बुँदे सम्झौतामा सक्रिय थिए ।

त्यतिवेला कोइरालाले गिरिजाप्रसाद कोइरालाको सहयोगीको रुपमा काम गरेका थिए । कोइराला पराष्ट्रमन्त्री भए प्रधानमन्त्री दाहाललाई समेत भारतसँगको सम्बन्ध सुधार र मजबुद बनाउन विशेष टेवा पुग्नेछ ।

भारतीय पक्षको चाहना थियो, आन्दोलनरत मधेशी मोर्चाको माग सम्बोधन होस भन्न । नभन्दै काँग्रेस, माओवादी केन्द्र र मोर्चावीच तीन बुँदे सहमति भएको छ । उक्त तीन बुँदेमा मोर्चाले भनेबमोजिमको संविधान पूनर्लेखनको कहीँकतै चर्चा समेत गरिएको छैन् । संविधान संशोधन मार्फत मधेशी मोर्चाको माग सम्बोधन गर्ने मात्रै सहमति पत्रमा उल्लेख गरिएको छ । यसको मतलब मधेशी मोर्चापनि एक कदम पछि हटेको छ । दाहालले मोर्चालाई समेत छिट्टै सरकारमा सहभागी गराउने सोच बनाएका छन् । आफू नेतृत्वको सरकारमा मोर्चा सहभागी भए उनलाई संविधान कार्यान्वयनमा सहजता हुनेछ ।

उता प्रचण्ड प्रधानमन्त्रीमा निर्वाचित भएसँगै दिल्लीमा समेत खुशीयाली छाएको छ । दिल्ली दाहाललाई स्वागत गर्न आतुर रहेको छ । हुन त प्रधानमन्त्री बन्नु भन्दा अघि नै दाहालले भारतीय पत्रिका दि हिन्दुस्तान टाईम्समा अन्र्तवार्ता दिँदै आफू भारतसँग सम्बन्ध सुधार गर्दै अघि बढ्न ईच्छुक भएको र नेपालको लागि भारत सँधै नजिक रहेको दाबी गरेका थिए । दाहालको उक्त भनाईलाई राम्रोसँग बुझेको दिल्ली उनको स्वागतको लागि आतुर हुनु त्यति नौलो होईन भन्दा अतिशोयुक्ति नहोला ।

भारतसँगमात्रै एकतर्फी सम्बन्ध राख्ने पक्षमा दाहाल छैनन् । उनले चीनसँग पनि उत्तिकै महत्वका साथ सम्बन्ध अघि बढाउने बुझिएको छ । आर्थिक साझेदारी र आपसी समझदारीको माध्यबाट नेपाल, भारत र चीनवीचको सहकार्यमा जोड दिने उनको योजना छ । ९ महिनामात्रै सरकारको नेतृत्व गर्न लागेका दाहालको सामू चूनौतिको थुप्रो चाँग खडा छ । यी सबै कामहरुलाई सही ढंगले समयमै कार्यान्वयन गर्नु उनको चूनौति हुन् ।

दाहाल एमालेसँग चिसोपना राख्ने पक्षमा छैनन् । बरु, उनी एमालेसँग हातेमालो गर्दै अघि बढ्ने दाउमा छन् । मुलुकमा राजनीतिक स्थायित्व हाँसिल भए आर्थिक समृद्धिको बाटोमा मुलुकलाई अघि डोराउन चाहन्छन् दाहाल । र त्यही अभियानलाई पूरा गर्न कुटनीतिक कदम चाल्ने उनको भित्रि तयारी छ । उनको लागि भारत र चीन उतिकै महत्व छन् । तर यसपटक भारतलाई उनले तुलनात्मक रुपमा बढि महत्व दिने बुझिएको छ ।