हिन्दि फिल्मका कारण ‘छाया’को रिलिज डेट सर्यो

249

काठमाडौँ, साउन – यही साउन २८ मा रिलिजको तयारीमा रहेको नेपाली फिल्म ‘छाया’ले आफ्नो रिलिज डेट सारेको छ। बलिउडका दुई ठूला ब्यानरका फिल्महरु ऋतिक रोशन अभिनित ‘मोहेन्जो दारो’ र अक्षय कुमारको ‘रुस्तम’ रिलिज हुने भएकोले छायाको डेट सारिएको हो।

‘छाया’का निर्देशक मनोज पण्डितले व्ययहारिक हिसाबले दुई ठूला हिन्दी फिल्मसँगै रिलिज गर्दा कम शो पाइने भएकोले फिल्मको रिलिज डेट सारिएको बताए।

उनले व्यंग्यात्मक पारमा भने, हामी निर्देशकका लागि यो नयाँ कुरा होइन, हामी बजारको नियम मान्न बाध्य छौँ। उनले नेपालीहरु नुन, तेल र औषधिमा निर्भर भएजस्तै मनोरञ्जनमा पनि परनिर्भर रहेको टिप्पणी गरे।

बाल यौनदुव्र्यवहार सम्बन्धी विषयमा बनेको ‘छाया’ साइब्रत आचार्य, अनुप बराल, अरुणा कार्की आदि कलाकारको अभिनय रहेको छ।

नेपाली फिल्म निर्माताहरु बलिउडका ठूलो ब्यानरका फिल्मसँग रिलिज डेट जुध्नेबित्तिकै हच्किन बाध्य छन्। बलिउडका फिल्मको तुलनामा नेपाली फिल्मले शो कम पाउने भएकोले पछिल्लो समय ‘झुम्की’ र ‘द विनर’को डेट सारिएको थियो।