नेविसंघमा १६ जना अध्यक्षका आकाङ्क्षी

143

काठमाडौं, साउन – आइतबारदेखि काठमाडौंमा सुरु हुने नेपाल विद्यार्थी संघको ११ औँ राष्ट्रिय महाधिवेशनमा १६ जना अध्यक्षका आकाङ्क्षी देखिएका छन् ।

नौ वर्षपछि हुन लागेको नेविसंघको महाधिवेशनमा नयाँ नेतृत्वका लागि नैनसिंह महर, मनोजमणि आचार्य, कुन्दनराज काफ्ले, दीपक भट्टराई र जितजङ्ग बस्नेत, सरोज थापा, नीलकण्ठ रिजाल, विनिता अधिकारी, आनन्दराज त्रिपाठी, शुभराम बस्नेत, रत्न कार्की, राजीव ढुङ्गाना, क्षितिज भण्डारी, लक्ष्मण आचार्य, अमृत पन्थी र दीपक भण्डारी अध्यक्षका आकाङ्क्षी देखिनुभएको छ ।

नेविसंघका प्रवक्ता युपी लामिछानेले धेरै वर्ष महाधिवेशन र स्ववियु निर्वाचन नभएका कारणले अध्यक्षको आकाङ्क्षी धेरै देखिएको बताउनुभयो । विसं २०६४ यता नेविसंघको महाधिवेशन हुन सकेको छैन । ६ महिनाभित्र २०६८ साल फागुनमा महाधिवेशन गराउन जिम्मा पाउनुभएका अध्यक्ष रञ्जित कर्णले पटक पटक महाधिवेशन गराउन खोज्दा असफल हुृनुभएको थियो । यही साउन २३ देखि २५ गतेसम्म भृकुटीमण्डपमा हुने महाधिवेशनले १ सय ६१ कार्यसमिति चयन गर्नेछ । रासस