पर्सामा सञ्चालित आमा सुरक्षा कार्यक्रममा व्यापक अनियमितता

133

वीरगंज, साउन – जिल्ला जनस्वाथ्य कार्यालय, पर्साबाट सञ्चालित आमा सुरक्षा कार्यक्रममा व्यापक अनियमितता भएको समाचार प्रकाशमा आएको छ । पर्सा जिल्लाभरि २१ स्थान तथा नगरपालिका अन्तर्गत नेशनल मेडिकल कलेज गरी २२ स्थानबाट आमा सुरक्षा कार्यक्रम सञ्चालन हुँदै आएको छ ।

नेपाल सरकारले आमा सुरक्षा कार्यक्रम सञ्चालनका आर्थिक वर्ष २०७२/२०७३मा जिल्ला जनस्वाथ्य कार्यालय, पर्साले रु १ करोड ८८ हजार २ सय रकम खर्च गरेको जनाएको छ । पर्सा ग्रामीण भेगमा सञ्चालित २१ वटा सेवा केन्द्रमा रु २८ लाख ७ हजार ६ सय तथा नेशनल मेडिकल कलेजमा रु ७२ लाख ७०० जिल्ला जनस्वास्थय कार्यालय, पर्साले भुक्तानी गरेको देखिन्छ ।

जिल्ला जनस्वास्थ कार्यालयले नेशनल मेडिकल कलेजले नक्कली बिल पेश गरेको भन्दै रु २ लाख भुक्तानी रोकेको जनाएको छ । नेशनल मेडिकल कलेजले पेश गरेको बिल भेरिफाई गर्दा शल्यक्रिया गरी बच्चा जन्माउने आमाको भर्ना दिन नै डिस्चार्ज गरेको तथा केही व्यक्ति फर्जी खडा गरी भुक्तानीको लागी पेश गरेको बिल रोकिएको सूचना अधिकारी अमलेश्वर मिश्राले बताए ।

नेशनल मेडिकल कलेजले आमा सुरक्षा कार्यक्रम अन्तर्गत निश्शुल्क सेवा दिनेबारे बिरामीहरू अनभिज्ञ छन् । निजी अस्पतालमा पैसा तिरेर राम्रो उपचार गराउन पुगेका बिरामीहरूलाई सोबापत सरकारले रकम दिन्छ भन्ने प्रश्न गर्दा छक्क परिन्–रौतहट चपुर–५ निवासी पूजा विक ।

विकलाई निश्शुल्क सेवा दिएको नाउमा मेडिकल कलेजले उपचार, औषधि तथा अन्य खर्चबापत रु ७ हजार ५ सयको बिल पेश गरी भुक्तानी लिएको देखिन्छ । विक २०७२ पुस १ गते भर्ना तथा १० गते डिस्चार्ज भएको अस्पतालको रेर्कडले देखाउँछ । विकसँग अस्पतालले उपचार खर्च रु १८ हजार र अन्य खर्च गरी ३२ हजार लिएको विकले बताइन् ।

जिल्ला जनस्वास्थ्य कार्यालय, पर्साले ‘आमा सुरक्षा कार्यक्रम’ अन्तर्गत शल्यक्रियाको रु ७ हजार, जटिलतायुक्त ३ हजार, सामान्य १५ सय तथा बाटो खर्च प्रतिव्यक्ति ५ सयको दर नेशनल मेडिकल कलेज तथा गाउँका २१ वटा बर्थिंग केन्द्रमा पठाएको जानकारी गराएको छ ।

पर्साको ग्रामीण भेगमा पोखरिया, बगही, भिखमपुर, ठोरी, निर्मलबस्ती, सेढवा, जानकीटोला, पटेर्वा सुगौली, मधुवनमथवल, ल·डी, मुडली पकहामैनपुर, विश्रामपुर, निचुटा, गादी, औहारा, महुवन, बगवन्ना, सखुवा परसौनी हेल्थपोस्टहरूबाट ‘आमा सुरक्षा कार्यक्रम’ सञ्चालनमा छ ।

आजको प्रतीक दैनिकमा समाचार छ ।