मकालुको जहाज कर्णालीमा खस्दा पौडेर बाँचे पाइलोट

123

काठमाडौं, साउन – हुम्लाबाट कार्गो लिएर सुर्खेतका लागि उडेको मकालु एयरको सिंगल इन्जिनको जहाज कर्णाली नदीमा खसेकाले पाइलोट बाँच्न सफल भएका छन् ।

सिमकोट विमानस्थलबाट बिहीबार अपरान्ह कार्गो बोकेर उडेको मकालु एयरको नाइन एन एपीसी कलसाइन भएको यो जहाज इन्जिन बन्द भएर साढे तीन बजेको समयमा सिधै कर्णाली नदीमा खसेको थियो ।

सिंगल इन्जिनको जहाज बर्खे भेल उर्लेको कर्णालीमा खसेपछि दुबै पाइलोटले पौडेर बाँच्न सफल भए ।

जहाज उडाइरहेका पाइलोट साङ्गे लामा र को–पाइलोट प्रशान्त शाहले कर्णालीमा पौडेर ज्यान बचाएको हुम्लाका प्रमुख जिल्ला अधिकारी डा. कृष्णबहादुर घिमिरेले जानकारी दिए ।

‘इन्जिन बन्द भएपछि जहाज सिधै कर्णाली नदीमा खसेछ । दुबै पाइलोटले भने पौडेर ज्यान बचाए, जहाजलाई कर्णालीले बगाएर लगेको छ’, प्रजिअ घिमिरेले भने, ‘जहाज खस्ने क्रममा पाइलोट लामाको घुँडामा र को–पाइलोट शाहको टाउको चोट लागेको छ ।’

कर्णालीबाट पौडेर निस्केपछि पाइलोटहरुले आफैं जहाज दुर्घटनामा परेको जानकारी गराएका थिए । ‘जहाज दुर्घटनामा परेर आफूहरु बाँच्न सफल भएको सूचना पाइलोटहरुले दिएपछि सिमकोटमै रहेको हेलिकोप्टरले उनीहरुलाई तत्कालै उद्धार गर्न सफल भयौं’, उनले भने, ‘दुबैको प्राथमिक उपचारपछि थप उपचारका लागि उनीहरुलाई नेपालगञ्ज पठाउने तयारी गरेका छौं ।’

जहाज कर्णालीमा खसेर दुर्घटनामा परेको सूचना दिएपछि उनीहरुको उद्धारका लागि सिमकोटबाट लाइफ ज्याकेटसहितको टोली पुग्दा दुबैजना कर्णालीबाट निस्किसकेका थिए ।

कर्णालीले बगाएर लगेकाले जहाजको अवस्था भने पत्ता लाग्न नसकेको घिमिरेले बताए । यसअघि नेपालगन्जबाट कार्गो र केही यात्रु लिएर गएको एयर काष्ठमण्डपको अर्को सिंगल इन्जिन जहाज कालिकोटमा दुर्घटना हुँदा दुबै पाइलोटको ज्यान गएको थियो । त्यो दुर्घटनामा यात्रु भने बाँच्न सफल भएका थिए ।