मीना बजार सम्झौता अनुसार व्यवसायीहरूलाई दिन दबाब

133

वीरगंज, साउन – वीरगंज उपमहानगरपालिका कार्यालयले आधुनिक मीनाबजार ठेक्कामा सञ्चालनका लागि जारी गरेको पाँचौपटकको सूचना खेर गएको छ । मीनाबजार वार्षिक रु ७१ लाखमा ठेक्का लिन वीउमनपाकाले आह्वान गरेको पाँचौंपटकको सूचनामा पनि कसैले आवेदन भरेन ।

पाँचौंपटक सूचना गर्दा पनि ठेक्का नलागेपछि आज तरकारी तथा फलफुल र माछामासु व्यवसायी सङ्घका पदाधिकारी, सदस्यहरूसहितले प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरे र वीउमनपाका कार्यकारी अधिकृत विष्णु कोइरालालाई भेटेर मीनाबजार खालि गराउँदा ०६७/९/१२ मा गरिएको जिल्ला प्रशासन कार्यालयका तत्कालीन प्रजिअ नागेन्द्र झा, वीउमनपाका तत्कालीन कार्यकारी अधिकृत शिवदत्त भट्टराई र तरकारी तथा फलफूल र माछामासु व्यावासायीबीच भएको त्रिपक्षीय सम्झौता लागू गर्न दबाब दिएको छ ।

तरकारी तथा फलफूल व्यावसायी सङ्घका उपाध्यक्ष राजेश्वर साह कानू, महासचिव सञ्जय वर्णवाल, माछामासु व्यवसायी सङ्घका उपाध्यक्ष राजु खड्गीको नेतृत्वमा प्रजिअलाई भेटेका तरकारी तथा माछामासु व्यावसायीहरूलाई प्रजिअले सम्झौता लागू हुनुपर्ने जिकिर गरेको माछामासु व्यवसायी सङ्घका कार्यालय सचिव ग्यासुद्दिन मियाँले प्रतीकलाई बताए । तर कार्यकारी अधिकृत कोइरालाले जेजस्तो सम्झौता भएको भए पनि वर्तमान परिवेशमा लागू हुन नसक्ने बताएको कार्यालय सचिव मियाँले बताए ।

आधुनिक मीनाबजार नगरविकास कोषको सहयोगमा वीउमनपाकाले करिब अढाई करोडको लागतमा निर्माण शुरु गरेकोमा अहिले निर्माण कार्य अन्तिम अवस्थामा छ । एकवर्षे ठेक्कामा करिब डेढ वर्ष मीनाबजार खाली गराउन समय लागेको थियो भने त्यसपछि ठेक्कामा उल्लेख भएको शर्त र निर्माण गराइएको ट्रसको काममा बेमेल भएपछि विवाद भएर लामो समय खेर गएको थियो । त्यसपछिका समयमा निर्माण सामग्रीको मूल्य वृद्धि भएपछि ठेकेदार कम्पनीले काममा ढिलाइ गर्दा अहिले चार वर्ष बित्न लाग्दा पनि काम बल्लबल्ल अन्तिम चरणमा पुगेको छ ।

आजको प्रतीक दैनिकमा समाचार छ ।