यस्ता छन् आमाको दुधका फाइदा

328

वीरगंज, साउन – विश्व स्तनपान सप्ताह दिवस हरेक वर्ष जस्तै यसवर्ष पनि साउन १७ देखि २३ गतेसम्म ‘स्तनपान दिगो विकासको प्रमुख आधार’ भन्ने नारासहित नेपालमा पनि मनाइदै छ । नारा जे भए पनि स्तनपान दिवसको मुख्य उद्धेश्य एउटी आमाले आफ्नो बच्चालाई सफल र पूर्णरुपमा स्तनपान गराउन प्रेरित गर्ने बुझिन्छ  ।

विश्व स्वास्थ्य संगठनका अनुसार सफल स्तनपान भनेको शिशु जन्मेको १ घण्टा भित्र आमाको दुध चुसाउने, ६ महिनासम्म बच्चालाई (आवश्यक परेमा औषधी वा भिटामिन बाहेक) पानी पनि नदिई आमाको दुध मात्र खुवाउनु हो । यसैगरी ६ महिनापछि २ वर्षसम्म आमाको दुधका साथै पोषिलो खानेकुरा सही मात्रा, सही तरिका र सही समयमा खुवाउनु पर्छ ।

आमाको दुध बच्चालाई अमृत समान हुन्छ । तर यसलाई आमाहरुले सही मात्रामा बच्चालाई दिन सकिरहका छैनन् । यसको कारण हो आमाले दुध पुगेन, दुध आएन भनेर दुध चुसाउन कम गर्नु वा छाड्नु  । अनि बट्टा वा गाई–भंैसीको दुध बच्चा खुवाउनु ।

यसले गर्दा बच्चाले चाहिने उचित पौष्टिक तत्वहरु पाउन सकेको हुँदैन । जसले गर्दा बच्चामा रोग प्रतिरोध क्षमता कमजोर हुन्छ र  पखला, स्वासप्रश्वासका रोग तथा कुपोषणबाट ग्रसित हुनपुग्छ । त्यसैले बच्चालाई ६ महिनासम्म पूर्ण रुपमा अमाको दुध मात्र खुवाउनु पर्छ ।

स्तनपानका फाइदाहरु

१. आमाको पहिला आउने पहेलो बाक्लो दुध (विगती) ले शिशुलाई विभिन्न रोग लाग्नबाट बचाउँछ ।

२. आमाको दुध सजिलोसंग बच्चाले पचाउन सक्छ साथै सफा पनि हुन्छ ।

३. आमाको दुधले झाडापखाला, श्वासप्रश्वास लगायतका विभिन्न रोगको संक्रमणबाट बचाउँछ ।

४. आमाको दुधले बच्चाको उचित मानसिक तथा शारीरिक विकास गर्न मद्धत गर्छ ।

५. आमाको दुध बच्चाले चाहेको बेलामा जहाँ पनि र जति पनि खुवाउन सकिन्छ ।

६. आमाले दुध चुसाउँदा आमा र बच्चाको माया–ममता बढन् जान्छ ।

७. आमाको दुध खाएका बच्चाहरुलाई पछि वयस्क हुँदा मधुमहे, मुटुरोग, दम रोग लाग्ने सम्भावना एकदम कम हुने विभिन्न अनुसन्धानले देखाएको छ ।

८. आमाको दुधमा ६ महिनासम्मका बच्चालाई आवश्यक पर्ने सम्पूर्ण पोष्टिक तत्वहरु पाइन्छ ।

९. स्तनपान गराउने आमाहरुलाई स्तन र पाठेघरको क्यान्सर हुने सम्भावना पनि धेरै कम हुन्छ ।

स्तनपान गराउँदा ध्यान पुयाउन पर्ने कुराहरु

१. बच्चा जन्मेको १ घण्टा भित्रमा आमाको दुध चुसाईहाल्नु पर्छ ।

२. स्तनपान गराउने आमा तनाव रहित रहनु पर्छ । र बच्चालाई पूर्णरुपमा दुध खुवाउन सक्छु भन्ने आत्मविश्वास पनि हुनुपर्छ ।

३. बच्चालाई जति सक्यो धरै पटक बच्चाले चाहेको समयमा चाहे जति दुध चुसाउनु पर्छ । बच्चालाई बारम्बार दुध चुसाउँदा दुधको मात्रा बढ्छ ।

४. बच्चालाई दुध चुसाउँदा दुधको मुन्टोको साथै वरिपरिको कालो भाग बच्चाको मुख भित्र हुनुपर्छ ।

५. एक पटक एउटा स्तनबाट दुध चुसाएपछि अर्को पटक अर्को स्तनबाट दुध चुसाउनु पर्छ ।

६. एउटा स्तनबाट शिशु अघाएन भने अर्को स्तनबाट दुध चुसाउनु पर्छ ।

७. स्तनपान गराँउदा बच्चाको शरीर आमासँग टासिएको र मुख स्तनतर्फ हुनुपर्छ ।

८. बच्चाको टाउको र शरीर सिधा हुुनुपर्छ ।

९. बच्चाको चिउँडोले आमाको स्तन छोएको हुनुपर्छ ।

बच्चालाई आमाको दुध पुगे–नपुगेको भन्ने छुट्याउने आधारहरु

१. बच्चाले २४ घण्टामा कमसेकम ६ देखि ८ पटकसम्म पिसाब फेर्छ । यदि त्यो भन्दा कम र पिसावको रङ गाढा पहेलो र गन्हाउने छ भने बच्चालाई आमाको दुध जतिमात्रामा चाहिने हो त्यो पुगेको छैन् भन्ने बुझ्नुपर्छ ।

२. बच्चाको तौल ५०० ग्राम प्रत्येक महिनामा बढनु पर्छ । यदि एक महिनामा ५०० ग्रामको दरले तौल बढेको छैन् भने पनि आमाको दुध पुगेको छैन भन्ने थाहा हुन्छ ।

३. बच्चाले  आमाको दुध खाइसके पछि राम्रोसंग निदाउँछ ।

स्वास्थ्यखबर पत्रिका बाट ।