धरौटीमा रिहा चिकित्सकहरूले हाजिरी गरे

251

वीरगंज – शैक्षिक प्रमाणपत्र नक्कली भएको कसूरमा कारबाइमा परेर अदालतमा धरौटी बुझाएर तारेखमा रिहा भएका नाउक्षे अस्पतालका तीनजना चिकित्सकमध्ये दुईजनाले आज हाजिरी गरेका छन् ।

अस्पताल विकास समितिको तर्फबाट बहाल रहेका डा. पन्नालाल साह र नेपाल सरकारको तर्फबाट बहाल रहेका डा. सरोज सिंहले आज हाजिरी गरेका हुन् । विकास समितिको तर्फबाट बहाल रहेका डा. कुशराज गिरीले भने हाजिरी गरेका छैनन् ।

आज हाजिरी गरेका डा. पन्नालाल साहले साउन ७ देखि २१ गतेसम्म एकमुष्ट १४ दिनको हाजिरी गरेका छन् भने डा. सरोज सिंहले साउन १७ देखि पाँच दिनको एकसाथ हाजिरी गरेका छन् ।

डा. साहको हाजिरी रजिस्टरमा रातो रेजा नलगाएको कारण उनले साउन ७ गतेदेखि हाजिरी गरेका थिए भने डा. सिंहको हाजिरीमा साउन १६ सम्म रेजा लगाइएकोले उनले साउन १७ गतेदेखि हाजिरी गरेका हुन्।

अस्पतालका प्रवक्ता रमेश चौधरीले हाजिरी गरेका चिकित्सकहरूको बारेमा स्थानीय प्रशासन र अस्पताल प्रशासनलाई जानकारी गराएको बताए । उनले हाजिरी गर्न हुने/नहुनेबारेमा अस्पताललाई कुनै जानकारी नगराइएकोले आफू पनि अन्योलमा रहेको बताएका छन् ।

आजको प्रतीक दैनिकमा समाचार छ ।