राप्रपामा अब दुइ अध्यक्ष हुने

165

काठमाडौँ  – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल (राप्रपा नेपाल) बीच एकीकरणको तयारी अन्तिम चरणमा पुगेको बताइएको छ। दुई राप्रपाको एकतासँगै केन्द्रीय समितिमा दुई वटा अध्यक्ष पदको व्यवस्था गरिँदैछ।

एकीकृत पार्टीमा राष्ट्रिय अध्यक्ष र अध्यक्ष गरी दुई वटा अध्यक्ष पद राखिने भएको हो। राष्ट्रिय अध्यक्षमा राप्रपा अध्यक्ष पशुपतिशमशेर राणा र अध्यक्षमा राप्रपा नेपालका अध्यक्ष कमल थापा हुने छन् ।

पहिलो स्थानमा राष्ट्रिय अध्यक्ष राख्ने कि अध्यक्ष राख्ने भन्ने विवाद भने अझै मिलेको छैन। यो विवाद साउन २५ गतेसम्म मिलाउने नेताहरूले बताएका छन्। पशुपतिलाई पहिलो स्थानमा राख्ने सम्भावना रहेको स्रोतको दाबी छ।

साउन २५ गते एकीकरणको घोषणा गर्ने गरी गृहकार्य सुरु गरिएको नेताहरूले बताएका छन्।

एकीकृत पार्टीको केन्द्रीय कार्यसमिति ३ सयभन्दा बढी सदस्यीय हुनेछ। हाल राप्रपाका सबै केन्द्रीय सदस्य र राप्रपा नेपालका सबै केन्द्रीय सदस्य एकीकृत पार्टीको केन्द्रीय सदस्य हुने छन्। दुवै पार्टीका केन्द्रीय सदस्य मिलाउँदा झण्डै २० सदस्यहरू बाहिरबाट मनोयन गर्ने तयारी भइरहेको स्रोतको दाबी छ।

राप्रपाले हिन्दू राज्य र गणतन्त्रलाई स्वीकार गर्छ भने राप्रपा नेपालले विधानमा गणतन्त्रात्मक व्यवस्था अझै स्वीकार गरिसकेको छैन। हिन्दू राज्यका मामिलामा भने दुवै पार्टीको समान धारणा रहेको छ। गणतन्त्रको मुद्दालाई संयुक्त महाधिवेशनले टुङ्गो लगाउने गरी एकीकरण तयारी भइरेको स्रोतको भनाइ छ।

‘साउन २५ गते राप्रपा र राप्रपा नेपालको एकीकरण हुने भएको छ। एकीकरणका सबै आधार तयार भइसकेका छन्,’ राप्रपा केन्द्रीय सदस्य राजेश गिरीले भने।

राप्रपा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नयाँ सरकारमा जाने तयारीमा छ भने राप्रपा नेपाल प्रचण्ड–सरकारको विपक्षमा छ। प्रचण्ड सरकारलाई हेर्ने दृष्टिकोणमा दुई राप्रपाबीच विवाद छ।

नयाँ व्यवस्थाअनुसार पशुपतिशमशेर राष्ट्रिय अध्यक्ष भएमा राप्रपाका नेता लोकेन्द्रबहादुर चन्द नेतृत्वबाट बाहिरिने छन्। केही दिनअघि मात्र राप्रपामा नेतृत्व हस्तान्तरण भएको थियो। राप्रपाको केन्द्रीय समिति बैठकमा चन्दले राणालाई अध्यक्ष हस्तान्तरण गरेका थिए।

राप्रपा नेपालले केही समयअघि निलम्बन गरेका केशरबहादुर विष्ट एकता प्रक्रियाको विरोधमा छन् भने राप्रपा नेता डा.प्रकाशचन्द्र लोहनी पनि सन्तुष्ट नभएको स्रोतले बताएको छ।