सामान्यतया फिल्ममा देखिने यस्तो चोरीलाई भारत तमिलनाडुका चोरले यथार्थमा बदलेका छन्। पैसाको सुरक्षाका लागि नजिकैको कोचमा प्रहरी समेत थिए तर उनीहरुले चोरीको संकेत समेत पाएनन्। सोमवार राती भएको फिल्मी शैलीको भयानक चोरी कसरी भयो ।

भारतको केन्द्रिय बैंकले पैसा ढुवानीका लागि ट्रेनको एउटा कोच बुक गरेको थियो। कोचमा २२६ वटा बाक्सामा तीन अर्व ४२ करोड भारतीय रुपैयाँ थियो।

१९ वटा कोच भएको यो रेल सोमवार राती ९ बजे तमिलनाडुको सलेमबाट छुटेको थियो। यतिबेला जुन कोचमा पैसा राखिएको थियो त्यो कोचको पोजिसन फरक थियो।

रेल सलेमबाट विरुदाचलममा पुग्यो। जहाँ इन्जिनको पोजिसन परिवर्तन गरियो र नगद राखिएको कोचलाई अन्तिममा पुर्याइयो। त्यही कोचको छेउमा रहेको अर्को कोचमा पैसा सुरक्षा गर्नका लागि आरपिएफ र जिआरपिका सुरक्षाकर्मी समेत तैनाथ थिए।

रेल मंगलवार बिहान ४ बजे चेन्नई पुग्यो। त्यसपछि यसलाई यार्डमा पठाइयो अनि फेरी एगमोरको रेलवे स्टेशनमा पठाइयो जहाँ रेलवेको पार्सल अफिस छ।

बिहान ११ बजे रिजर्भ बैंकका अधिकारीहरु रेलमा आएको पैसा लिन पार्सल अफिस पुगे। त्यहाँ पुगेर कोच खोलेर हेर्दा छतबाट उज्यालो आइरहेको थियो। त्यहाँ कोचको काटिएको छतको भाग समेत भुईंमा थियो।

त्यसैगरी भुईंमा नोट पनि छरिएका थिए। कोचमा रहेका २२६ बाक्सामध्ये चार बाक्सा खुला थिए। त्यसमध्ये एउटा बाक्सा पुरा खाली थियो भने एउटा बाक्सामा आधा पैसा थिएन।

नोट चोरीको छानविन गरिरहेका एक अधिकारीका अनुसार चोरले जति सम्भव थियो त्यति पैसा मात्रै लगेका थिए। रेलको छतमा जुन प्वाल पारिएको थियो, त्यहाँबाट एक जना व्याक्ति मात्रै छिर्न सक्ने अवस्था थियो।

चोरले कसरी चलाउलान् पैसा
भारतीय रिजर्भ बैंकका अधिकारीहरुका अनुसार सातामा कम्तिमा पनि एक पटक रकम चेन्नई पठाउने गरिन्छ। यो नगद इन्डियन ओभरसिज बैंक लगायत तीन बैंकमा पठाइएको थियो।

बैंक अधिकारीहरु चोरी गरिएको रकम चोरले तत्काल प्रयोग गर्न सक्ने छैनन्। बैंक अधिकारीहरुले चोरी गरेको नगद बाँकी नोटको बीचमा लुकाएर प्रयोग गर्ने बाहेक एकै साथ प्रयोग गर्न नसकिने बताए।

रेलवे प्रोटेक्सन फोर्स ९आरपिएफले० नगद चोरीको छानविन सुरु गरेको छ। रेलवेका अधिकारीहरु चोरीमा सरोकारवाला कसैको सहभागीता भएको आशंका गरे। जसले चोरी गरेको छ, उसलाई ल्याण्डिङ प्यार्टन र रेलको रुटका वारेमा जानकारी थियो, उनीहरुले शंका व्याक्त गरे।

सलेम-विरुदाचलम रुट इलेक्ट्रिफाइड गरिएको छैन्। यो रुट पार गर्न रेललाई तीन घण्टा लाग्छ। यही बेला चोरहरुको ग्याङ्गले कोचको छत काटेको अनुमान गरिएको छ। विरुदाचलममा इन्जिनको पोजिशन परिवर्तन गरियो, यहीं पैसा लोड गरिएको कोचलाई अन्तिममा पुर्याइयो। ग्याङ्गलाई यो सबै बारेमा जानकारी थियो।

नगद निगरानी गर्न सलेमका नौ सदस्यीय टीम तथा डिएसपिको दिइएको थियो। उनीहरु छउकै कोचमा थिए। रेलवे पुलिसका इन्सपेक्टर जनरल एम बालासुव्रमण्यमले पुलिसलाई आरबिआई अधिकारीले खबर गरेपछि मात्रै चोरी भएको जानकारी पाएको बताए।

चेन्नई जोनका पोस्टमास्टर जनरलले हालै रेलबाट पार्सल चोरी हुने गरेको गुनासो गरेका थिए। उनले डिब्बामा सिसिटिभि क्यामरा लगाउने सुझाव समेत दिएका थिए।

आरबिआई अधिकारीहरुका अनुसार छतमा प्वाल पारेर पाँच करोड ७८ लाख भारुभन्दा बढी चोरी गरिएको छ। यो ट्रेनमा भएको अहिलेसम्मको सबैभन्दा ठूलो चोरी हो।