जनसम्बन्ध धुमल्याउँदै महावाणिज्य दुतावास

1359

वीरगञ्ज, साउन-

सन्तुलित भूमिका चुकेको भनी पछिल्लो समयमा नेपाल–भारत सम्बन्धका विश्लेषकहरुको चिन्ताको विषय बनेको वीरगञ्जस्थित नेपालको लागि भारतीय महावाणिज्य दुतावासमा सौन्दर्यकर्मीहरुको उठवस बाक्लिएको देखेर शहरका प्रतिष्ठित ब्यक्तिहरु टाँढिन थालेका छन् । नेपालसँग भौगोलिक, सामाजिक, शैक्षिक र साँस्कृतिक रुपमा मात्र होइन उन्नतिका लागि भविश्यसँग पनि जोडिएको भारतले स्वतन्त्रताको ७० औं गौरवमय वर्षगाँठ सोमबार मनाएको छ । विश्वको सबभन्दा ठूलो लोकतान्त्रिक राष्ट्रको गरिमा बोकेको र आर्थिक तथा सामरिक महत्वका दृष्टिकोणले दिनानुदिन आफ्नो हौसियत बढाउँदै लगेको छिमेकी राष्ट्र भारतसँगको सहकार्य र सिकाई नेपालको लागि महत्वपूर्ण हुने भनिएको बेला कुटनतिक कर्मचारीहरुको कार्यशैली र ब्यवहार कुशल नहुँदा आपेक्षाहरु तुहिन थालेका छन् । चिरकालदेखी कायम भई चलिआएको दुई देशबीचको जनसम्बन्धमा पनि उनीहरुको हर्कतले असर पु¥याउन थालेपछि भारतीय महावाणिज्य दुतावासको तत्कालिन भूमिकामाथि प्रश्नहरु उभिएका छन् ।

विश्वभरमा भारतीयले महान उत्सवको रुपमा आत्मसात गरेको १५ अगस्तका दिन मनाईने स्वतन्त्रता दिवसको अवसरमा भारतीय महावाणिज्य दुतावासले आयोजन गरेको कार्यक्रमको फितलो व्यवस्थापन देखेर सहभागीहरुले अपसोस जाहेर गरे । टन्टलापुर घाममा अतिथीहरुलाई बसालेर स्वतन्त्रता दिवसको कार्यक्रमको औपचारिकता मात्र पुरा गरिएको उनीहरुले बताए । एउटा टेन्टको पनि ब्यवस्था भारतीय महावाणिज्य दुतावासले गर्न सकेन । भारतीय महावाणिज्य दुतावासको स्थापनाकालदेखी सुरु भएको समन्वयात्मक भूमिका, व्यापारमा सहजिकरण समाजिक सम्बन्ध तथा साँस्कृतिक क्रियाकलाप र महत्वपूर्ण सूचना सम्बन्धी कार्य अचेल नाम मात्रको छ । केही जना बाहेक आर्थिक नगरी वीरगञ्जका उद्योगी व्यापारी भारतीय महावाणिज्य दुतावासको छेउ पर्न चाहदैनन् । नेपाल भारत बीचको व्यापार सहजीकरण गर्ने उद्देश्यका साथ स्थापना भएको वाणिज्य दुतावास यहाँका प्रतिष्ठित उद्योगपति र व्यापारीहरुको मानमर्दन गर्ने कार्यलाई अटुट डियूटी नै बनाएपछि पिडित व्यापारीहरु सकभर दुतावासको छेउ पर्न चाहदैनन् । समाजमा विशिष्ठ योगदान गरेका र अभिमत सृजनामा भूमिका गर्न सक्ने ब्यक्तिहरुको त्यहाँ कुनै स्थान छैन् । अझ कलम चलाउनेहरुका लागि त त्यहाँ निषेध कै अवस्था छ । बौद्धिक जमात टाँढिने क्रम जारी छ । दुई देशबीचको सम्बन्धमा सहस्तित्व देख्ने दुरद्राष्टाहरुले यसमा गम्भीर चिन्ता जनाउने गरेका छन् ।

वीरगञ्जको नागरिक जगत र व्यापारी समाज त टाँढिएकै छन्, उता सिमा पारी भारतीय शहर रक्सौलका जनता पनि वीरगञ्जस्थित भारतीय महावाणिज्य दुतावासको गतिविधीले क्षुब्ध छन् । सिमास्थित भारतीय कस्टम नजिकै रहेको नेपालका लागि पुरानो भारतीय राजदुतावासको अतिथी गृह भारतीय महावाणिज्य दुतावासकै रेखदेखमा छ । त्यहाँ भित्र रहेको भगवान हनुमानको एउटा भव्य मन्दिरमा रक्सौलका स्थानीयले सुरुदेखी नै पूजाआजा गर्दै आएका थिए । भारतीय महावाणिज्य दुतावासले पोहोर आचानक पूजा गर्नेहरुको प्रवेशमा रोक लगाएपछि रक्सौलको स्थानीय नागरिक समाज बिरोधमा उत्रिएको थियो । रक्सौलवासीको चर्कोको विरोधका कारण भारतीय महावाणिज्य दुतावासले आफ्नो गल्ती सच्याउनु परेको थियो । समस्याको सामाधान भएपनि भारतीय महावाणिज्य दुतावासका अधिकारीहरुको रक्सौलवासीको नजरमा गिरेको छवि भने उठ्न सकेको छैन । यसरी सिमावर्ती शहरमा सिमा वारी र पारी दुवै तिरका प्रतिष्ठित जनताको नजरमा गिरोको संस्थाको साख उठाउन भारत सरकारले यथासिघ्र सुधार थाल्नु पर्ने दुबैपट्टीका मानिसहरुको राय छ । साभार