बाबुद्धारा छोरीको हत्या

302

वीरगन्ज– पर्साको महादेवपट्टी गाविसमा एक जनाले आफनै छोरीको हत्या गरेका छन् । महादेवपट्टी गाविस वडा नम्बर ३ का शीव मुखिया बिनले आफनै १४ वर्षिया छोरी प्रभा कुमारीको गएराति हत्या गरेका हुन् । बिनलाइ प्रहरीले आज बिहान उनकै घरबाट पक्राउ गरेको छ । स्थानीयवासीले बिनले गएराति छोरी प्रभाको हत्या गरेको सुराकी दिएपछि प्रहरी चौकी महादेवपट्टीको टोलीले आज बिहान घरबाटै बिनलाइ पक्राउ गरेको पर्साका प्रहरी नायव उपरिक्षक होविन्द्र बोगटीले जानकारी दिनु भयो । प्रभाको गाँउकै एक युवकसंग प्रेम सम्बन्ध रहेको थाहा पाएपछि बिनले छोरीको हत्या गरेको स्थानीयवासीले बताएका छन् ।

प्रहरी हिरासतमा रहेका बिनले पनि छोरीको गाउका युवकसंग नाजायज प्रेम सम्बन्ध रहेको थाहा पाएपछि इज्जत प्रतिष्ठा जोगाउनका लागि हत्या गरेर शव गाँउ नजिकै रहेको भारतको पचरौता जंगलमा लगेर फालिदिएको बयान प्रहरीलाई दिएका छन् । बिनको बयानका आधारमा इलाका प्रहरी कार्यालय पोखरीयाबाट प्रहरी निरिक्षक चक्र बहादुर शाहको नेतृत्वमा खटिएको प्रहरीको टोलीले पचरौता जंगलबाट आज बिहान प्रभाको शव बरामद गरेको छ । शव पोष्ट मार्टमका लागि नारायणी उपक्षेत्रीय अस्पतालमा पठाइएको प्रहरी नायव उपरिक्षक बोगटीले जानकारी दिनुभयो । प्रभाका आमा शारदा मुखिया र दाजु राज कुमार मुखिया भने घर छाडेर फरार रहेको प्रहरी नायव उपरिक्षक बोगटीले बताउनु भयो ।