स्थानीय प्रशासनद्वारा ३७ लाखको गुट्खा विक्री

683

वीरगञ्ज, भाद्र

स्थानीय प्रशासनले नियन्त्रणमा लिएको ३७ लाखको गुट्खा व्यापारीसँग विक्री गरेको समाचार प्रकाशमा आएको छ । जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय पर्सा बीच गुट्खा सम्बन्धमा विवाद भएपछि खबर बाहिरीएको हो । जिल्ला प्रहरी कार्यालय पर्सा र वडा प्रहरी कार्यालय विर्ताको संयुक्त टोलीले साउन ३० गते वीरगञ्जस्थित माँ वैष्णवी इन्टरप्राइजेज, चावासती मार्केटिङ्ग, कृष्ण जनरल स्टोर र कञ्चन किराना पसलबाट एकसय ६ बोरा अर्थात ३७ लाख १० हजार रुपैयाँ बराबरको गुट्खा बरामद गरेको थियो ।

मापदण्ड अनुसारको घातक चिन्ह (छाप) नभएको, उत्पादन मिति स्पष्ट बुझिने गरी प्रिन्ट नभएको, म्याद गुज्रिसकको, गुट्खामा उत्पादन मिति नै नभएको गुट्खा प्रहरीले बरामद गरी साउन ३२ गते जिल्ला प्रशासन कार्यालय पर्सामा बुझाएको थियो । जिल्ला प्रशासनबाट सो गुट्खा पुनः व्यापारीलाई नै विक्री गरेपछि सुरक्षा संयन्त्र भित्र विवाद श्रृजना भएको छ ।

प्रहरीले गुट्खा जलाएर नष्ट पारेको मुचुल्का खडा गरेर माथिल्लो निकायसम्म जानकारी गराएको छ । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय पर्साले गुट्खा जलाएर नष्ट गरेको प्रहरीले हेरेको छैन । आदेशानुसार मुचुल्का मात्रै खडा गरेको हो । यता सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले भने : “प्रहरीले बरामद गरी बुझाएको गुट्खा जलाएर नष्ट गरेको हौं ।”