विद्युत चुहावट नियन्त्रणका लागि समिति गठन

152

12274351_1945551859002305_1316125019390652571_nकाठमाडौं, १७ भाद्र । उर्जामन्त्रालयले विद्युत चुहावट नियन्त्रण गर्नको लागि एक समिति गठन गरेको छ ।
उर्जामन्त्रालयका सहसचिव सुपरिटेन्डेन्ड इन्जिनीयर संदीप कुमार देवको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको हो । समितिमा विद्युत प्राधिकरणका निर्देशक बज्रभुषण चौधरी र उप प्रवन्धक विजय चौधरी, इन्जिनीयर जयराज भण्डारी र स्वतन्त्र विज्ञ डा. नेत्र ज्ञवालीलाई राखिएको छ । समितिलाई विद्युत उत्पादन, प्रसारण र वितरणको सिलसिलामा हुने प्राविधिक तथा अप्राविधिक चुहावट नियन्त्रण गर्ने जिम्मेवारी दिइएको छ । यस्तै समितिलाई आठ बुँदे कार्यसूची समेत दिइएको छ । समितिले विद्युत चुहावटको अवस्थाको अध्ययन तथा विश्लेषण गर्ने, विद्युत चुहावट घटाउन चाल्नुपर्ने कदमको वारेमा सुझाव दिने, चुहावट घटाउन कार्ययोजना बनाउने, विद्युत चुहावट न्यूनिकरणको लागि प्रोत्साहन संयन्त्र तयार गर्ने जस्ता काम गर्नेछ । यस्तै समितिले चुहावट नियन्त्रणको लागि नियमित अनुगमन तथा निरीक्षणको कार्ययोजना बनाई लागु गर्ने, चुहावट सम्बन्धी सूचना लिई स्थलगत अनुगमन तथा निरीक्षण गरी कार्वाही गर्ने, चुहावट नियन्त्रण वारे सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिने र चुहावट नियन्त्रणको क्रममा आवश्यक पर्ने सुरक्षा व्यवस्थाको लागि प्रमुख जिल्ला अधिकारीसँग आवश्यक समन्वय गर्नुपर्नेछ ।