जग्गा खोज्न बिभागको टोली बीरगंजमा

663

बीरगंज २२ भदौ ।
पर्सा जिल्लाको सेढवा गाविसमा रहेको ९ बिगाह १८ कठ्ठा जमिनका बिषयमा उठेको किचलो बारे अध्ययन गर्न मालपोत बिभागले ३ सदस्यीय टोली बीरगंज पठाएको छ ।
३ सदस्यीय छानबिन टोलीमा विभागका निर्देशक सुशीलप्रसाद आचार्य, रामकृष्ण श्रेष्ठलगायत रहेका छन् । टोलीले जमिनको वास्तविकता बुझन अनुसन्धान भइरहेको र अनुसन्धानपछि विभागमा प्रतिवेदन बुझाउने बताइएको छ ।
केहीदिन अघि वीरगंज आएका भूमिसुधार तथा व्यवस्थापनमन्त्री विक्रम पाण्डेले मालपोतको निरीक्षण गर्ने क्रममा सेढवा घटनाबारे जानकारी पाएपछि मन्त्री पाण्डेले छानबिन गर्न आदेश दिनु भएको थियो ।
सेढवाको कित्ता नं. ९४ को ९ बिघा १८ कट्ठा जग्गा २०७१ सालमा ३ कित्तामा रजिस्ट्रेसन भएको थियो । कित्ता नं. १२५, १२६ र १२७ मा विभाजित जग्गामध्ये कित्ता नं. १२६ को जग्गा कनक चौधरीको नाउँमा २०७१ पुष २३ मा रजिस्ट्रेशन भएको थियो । सोही दिन छविला राउत गद्धीले चौधरीबाट सो जग्गा खरिद गरि आफनो नाममा नामसारी गराएका थिए ।
छविला राउत गद्दीले खरिद गरेको जग्गामा पछि विवाद सृजना भयोे । जग्गामा किचलो निस्के पछि चौधरी र गद्धीले मालपोत कार्यालय बीरगंजका कर्मचारीको सल्लाहमा सो जमीन सरकारीकरण गर्ने भन्दै एउटा निवेदन दिए । कर्मचारीले सो जग्गाको जग्गाधनी हैसियत अन्त्य गरि जमिनलाई सरकारीकरण समेत गराए ।
छबिला गद्दीले एउटै कित्ताबाट ३ कित्ता भएकोमा एउटा आफनो नामको जग्गा मात्र सरकारीकरण गरिनु र बाँकी जग्गा व्यक्तिविशेषकै नाउँमा रहन दिनुले मालपोत कर्मचारीको नियत ठीक नभएको ठोकुवा गर्नुहुन्छ । तर २०२८ सालमा हाल अवादी जग्गा दर्ता समिति रहेको र त्यस मार्फत जग्गा दर्ता भएको मालपोतको अभिलेखमा देखिन्छ । ९ बिगाह जग्गा मध्य ४ र १ बिगाह ९ कठ्ठाको दुई कित्ता जग्गा दर्ता पछि रजिष्ट्रेशन भई सुक्रि बिक्री भएको देखिन्छ भने अहिले विवाद देखिएको जग्गा रजिष्ट्रेशन नभएको मालपोत सम्बद्ध स्रोतले जनाएको छ ।