प्रहरी हस्तक्षेप पछि बिवाह

60

बीरगंज २२ भदौ ।
दाइजोको लोभमा परि छिनिएको मितिमा जन्ती नलग्ने पर्साको सबैठवा ५ का अमरुल्लाह मिया प्रहरीको हस्तक्षेप पछि जन्ती लान राजी भएका छन ।
भारत बिहारको मैनाटार थाना, इनर्वा निवासी समसुल हक मियाँकी छोरी आम्ना परवीनको बिहे पर्सा सबैठवा गाविस–५ निवासी अमरूल्लाह मियाँको छोरा नसीम अख्तरसँग तय भएको थियो ।
गत साउन १५ गते बिहे हुने निधो भएर केटीपक्षले केटापक्षलाई ९० हजार नगद र नेपालमा रहेको मोही ३ कठ्ठा जग्गा पास गरेको थियो ।
तर अमरुल्लाहले माग बमोजीमको रकम समयमा नआएको भन्दै छिनिएको मिति साउन १५ मा बेहुला सहित केटीको दैलोमा गएनन । कवोल गरेको बाहेक अन्य थप माग समेत पुरा गर्ने प्रतिवद्धता जनाएपनि केटा पक्षले जन्ती नल्याएपछि केटीका बुवा समसुल हकले इलाका प्रहरी कार्यालय पोखरियामा उजुरी गरेका थिए । उजुरीको आधारमा प्रहरीले केटा र उनको बुवालाई भदौ १५ मा पक्राउ गरेको थियो ।
प्रहरी नियन्त्रणमा परेपछि अमरूल्लाह छोराको बिहे तय भए अनुसार समसुलकी छोरीसँग गर्न राजी भए । प्रहरीले हिरासतमा रहेका अमरूल्लाहको छोरासँग बिहे गर्न समसुलकी छोरीलाई भारतबाट झिकायो र पोखरियास्थित जामे मस्जिदमा भदौ १७ गते शुक्रवारका दिन मुस्लिम रीति अनुसार निकाह गरायो ।
इप्रका पोखरियाका प्रनि चक्रबहादुर शाहले लेनदेनको विषय प्रहरीलाई थाहा नभएको तर बिहेको मिति तोकेर जन्त नगएको कसुरमा अमरूल्लाह र निजका छोरा नसीम अख्तरलाई पक्राउ गरिएको र उनीहरू दुवै बिहे गर्न राजी भएपछि प्रहरीको रोहबरमा निकाह गराईएको बताउनु भयो ।