बुहारी हत्याको आरोपमा जेठाजु पक्राउ

341

बीरगंज २९ भदौ ।
भाई बुहारीको कर्तब्य गरि ज्यान लिएको आरोपमा प्रहरीले बसडिल्वा गाविस–६ का ५१ वर्षीय प्रभु महतोलाई मंगलवार पक्राउ गरेको छ । प्रभूले छुरा प्रहार गरी आफनै भाइ रुदल महतोकी श्रीमती ४० वर्षीया चुनिया देवी भन्ने मुनिया देवीको हत्या गरेको प्रहरीले जनाएको छ ।
बसडिल्वा गाविसमा जग्गा विवादलाई लिएर भएको दुई दाजुभाइबीचको झगडामा जेठाजु प्रभूले भदौ ९ गते बुहारी मुनियादेवीको पेटमा छुरा प्रहार गरेका थिए । छुरा प्रहारबाट गम्भीर घाइते भएकी मुनिया देवीलाई उपचारको लागि नेशनल मेकिडल कलेज वीरगंजमा भर्ना गरिए पनि स्वासथ्यमा सुधार नआएपछि उनलाई गत सोमवार अस्पतालबाट घर लगिएको थियो । सोही दिन उनको मृत्यु भएको थियो ।
घरपरिवारका सदस्य र आफन्तले मृतक मुनिया देवीको पोस्टमार्टम नै नगरी गाउँकै शम्शानघाटमा लगेर दाहसंस्कार गरेका थिए । प्रहरीले मुनिया देवीको मृत्यु भई दाहसंस्कार गरिएको खबर मङ्गलवार मात्र थाहा पाएको पर्साका प्रहरी उपरीक्षक डा. राजुबाबू श्रेष्ठले बताउनु भयो । खबर पाए लगत्तै मुनिया देवीलाई छुरा प्रहार गर्ने जेठाजु प्रभुलाई पक्राउ गरिएको उहाँले बतानु भयो । प्रभुलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखिएको छ ।
पक्राउ परेका प्रभुविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरी कारबाई प्रक्रिया अगाडि बढाइएको प्रउ श्रेष्ठले बताउनु भयो । प्रहरीलाई खबर नगरी पोस्टमार्टमबिना शवको दाहसंस्कार गर्ने कार्यमा संलग्नहरूलाई पनि कानुनी कारबाईको दायरामा ल्याइने प्रउ श्रेष्ठले दावी छ ।