छोराका लागि ‘सहिद सपना’को विरासत

408

 बजारको फोहोर पानी निकासा गर्ने ढलमाथि बाँसको सानो पुल। त्यही भाटेपुलसँगै जाडिएको बाँसकै भाटा र पुराना जस्तापाताले बनेको उदाङ्गो घर। घरको एक्कापट्टी ‘मधेश आन्दोलनका वीर शहीद शोहन कलावर साहका पत्नीद्वारा सञ्चालित भोजानालय’ बुझाउने बोर्ड।

‘म एक्लै भएको पनि एक वर्ष भएछ। कहिलेकाहीँ सपनामा देख्छु, ब्युँझेपछि आँशु रोक्नै सक्दिन। बाबु खोजेर बच्चाहरुले पनि सम्झाई रहन्छन्। यिनीहरुकै मुख हेरेर चित्त बुझाउँछु। रुन छाड्छु।’

जम्माजम्मी १० जनासम्म अटाउन सक्ने केही मेच र टेवल। त्यहीँभित्र अटेको छ, भान्सा, ओछ्यान र अरू घरायसी सामाग्री।

भदौ महिनाको तेस्रो साता। मध्यदिनमा वीरगन्जको चर्को गर्मी। मधेश आन्दोलनका शहिद शोहनकी श्रीमती विनिताले चलाएको होटल पुगेर उनले कतिबेला बोल्ने फुर्सद पाउलिन् भनेर केहीबेर कुर्नुपर्‍यो।

00

हस्याङ्फस्याङ गर्दै आइपुगेका अधवैँसे रिक्सा मजदुरले हातसँगै निधारका पसिना पखाले। भोकले हतारिएका उनका आँखा भालभात तरकारीबाहेक अरूतिर परेनन्। थाल रित्तिएपछि ३० रुपैयाँ मोलको एक बोटुको खाना थप्न इसारा गरे। यसपटक उनलाई खाना सक्न केही समय लाग्यो।

उनले हात नचुठ्दै पहिले नै खान भ्याइसकेका उनका साथीहरू सामुन्नेमा हातपातमै उत्रिइहाले। विवादको विषय बुझ्न सकिएन।

चर्काचर्कीले सबैको ध्यान खिच्यो। बच्चा खटियामा राखेर विनिता साह (२२) कराउन थालिन्, उनकै मध्यस्थतामा विवाद सामसुम भयो। सबै आ–आफ्ना रिक्सा लिएर बजारतिर दगुरे।

यसपछि भने विनिताको होटल सुनसान भयो। र, सुरु भयो कुराकानी। उनको भोजपुरी लवज बुझ्न हम्मेहम्मे परिरहेको थियो।

‘होटल चलाएपछि यस्ता कुरा भइरहन्छन्, कहिलेकाँही दिक्क लाग्छ। तर, मसँग अरू विकल्प पनि त छैन,’ विनिताले आफ्नो वाध्यता सुनाइन्, ‘भद्र मान्छेहरू बजारको राम्रो होटलमा गइहाल्छन्, यहाँ आउने त यस्तै मजदुरी गर्नेहरू नै हुन्। उनीहरूको सानै विषयमा पनि ठाकठूक परिरहन्छ।’

विनितालाई पनि अचेल ठूला मान्छे भन्दा यस्तै मजदुरी गर्नेहरू नै प्रिय लाग्न थालेको छ। ‘धेरै आए भने खाना धेरै जान्छ, पोस (नाफा) राम्रै हुन्छ नि त,’ उनको व्यापार बोल्यो।

बच्चा (कान्छो छोरा रविन) लाई अँगालोमा बाँध्दै विनिताले आफ्नो दैनिकी सुनाउन थालिन्, ‘बिहानै बच्चाहरू र सासुलाई खाना दिएपछि एउटा (चार वर्षीय ठूलो छोरा राजन) लाई स्कुल पु¥याउँछु। त्यसपछि हतारहतार होटलमा चिया, खाना तयार पार्न थाल्छु। दिनभर होटलमै बित्छ। फेरि, साँझमा परिवारका लागि खाना बनाउनु परिहाल्छ। सघाउने मान्छे हुँदैन, थाकेर हैरान हुन्छु।’

धेरै काममा खटिँदा बिरामी पर्छु कि भन्ने डर उनको मनमा परिरहन्छ। तर, सोधिदिने कोही हुँदैन। ‘एक्लो छु, थला बसेँ भने त बच्चाहरुको विचल्ली भइहाल्छ,’ उनले थपिन्, ‘अस्ति एक पटक बिरामी परेँ, कम्ति गाह्रो भएन। तर, हिम्मतले ठीक भएँ।’

विनिताले एक वर्ष अघिसम्म बिताएको रंगीन जिन्दगीबाट रङ कसरी खोसियो? उनी आफ्नो निकट अतीततिर फर्किइन्। भावुक हुँदै श्रीमान् शोहनलाई सम्झिइन्, ‘मागी विवाह भए पनि हामी साथीजस्तै थियौँ। सानैमा बिहे भएकाले होला, श्रीमान् जस्तो मात्रै नलाग्ने।’ १७ वर्षको उमेरमा विवाह गरेको दम्पत्तीको यसरी नै पाँच वर्ष बितिसकेको थियो।

‘बच्चा हेरेर घरमै बस्नु, बाहिरको सबै काम गर्ने म छु, भन्नुहुन्थ्यो,’ विनिता खसमको यादमा डुबिन्, ‘उसले भनेजस्तै म पनि दुई जना काखे छोराहरू पढाउँदै घरभित्रकै काममा सीमित थिएँ।’

‘घुमफिर गर्न बजारतिर निस्के पनि मजदुरी गर्न कहिल्यै जानु परेन,’ विनिताले यादको पत्र खोल्न थालिन्, ‘उहाँ आफ्नो पाखुरी देखाएर भन्नुहुन्थ्यो– हाम्रो बच्चाहरू, आमा र तिम्रो लागि म छँदैछु नि।’ यति भनिसकेपछि विनिताले हुँक्क गरिन्, ‘अब त ऊ छैन।’

दिनभर मजदुरी गरेर साँझ घर आइपुग्ने शोहन सँधै बिनितासँग छोराहरुकै कुरा गर्थे। मजदुरी नगरे साँझ भोकै बस्ने बाध्यता छोराहरुले भोग्न नपरोस् भनेर हरेक साँझ शोहनले बुन्ने सपनामा विनिता साक्षी बस्थिन्।

शोहनले आमा, विनिता र दुई छोरालाई मजदुरी गरेरै भए पनि खुसीसाथ राखेका थिए। इमान्दार र मेहनती भनेर चिनिने उनले राखेका कुरा समाजका अरुले लर्तरो काट्ने हिम्मत गर्दैनथे।

राजनीतितिर खासै रुचि थिएन। तर, छोराहरुको यति धेरै चिन्ता थियो कि जे पनि गर्न तयार हुने। ‘सँधै बेटाहरू बडा आदमी भएको देख्न चाहनुहुन्थ्यो,’ बिनिता भन्छिन्, ‘उनीहरुकै लागि भनेर उहाँ सँधैका लागि बिदा हुनुभयो।’

‘बन्दीमा बाहिर नजानु भनेँ। तर, मान्नु भएन।’
‘देशको लडाइँ चलिराछ, घरमा बस्दिन भन्दै जिद्दी गरेर बिहानै घरबाट निस्कनु हुन्थ्यो,’ विनिताले एक वर्षअघि मधेस आन्दोलनले तातेको वीरगञ्ज सम्झिइन् र सम्झिइन्, देशको लडाइँमा पो हिँडेको त भन्ने जीवनसाथीलाई, ‘बन्दीले गर्दा काम पनि थिएन, नाराजुलुसमा जानुहुन्थ्यो। मैले रोकेर पनि सक्दिन थिएँ। अधिकारको लागि भन्दै सबै जान्थे आन्दोलनतिरै। उहाँ पनि जानुहुन्थ्यो।’

बच्चाहरुसँग घरमै बसिरहेको थिएँ। भदौ १५ गते। दिउँसो १ बजेतिर फोन आयो, ‘अस्पताल आउनू। गोली लागेर शोहन घाइते भएको छ।’

‘मेरो मुटुको गति रोकिएजस्तो भयो। सास नफेरी पुगेँ अस्पताल। मान्छेहरु झुरुप्प थिए। घाइते मात्र भनेर बोलाए। शोहनलाई त लुगाले छोपेर राखेका रहेछन्,’ रसाउँदै गरेका आँखा सलको सप्कोले पुछ्दै बोलिन् उनी, ‘मेरो त होस गयो। भोलिपल्ट होस आउँदा म आफैँ अस्पतालमा लडिरहेकी थिएँ। वरिपरि थिए आफन्त र छरछिमेकी।’

छोराहरुको सुन्दर भविष्यको कल्पनामा डुबिरहने सहयात्री अस्ताएपछि उनले ६ महिनाजति त रोएरै बिताइन्। ‘केही गर्न मन लागेन। बच्चाहरू हे¥यो, शोहनको सम्झना आइहाल्ने।’

उनी यथार्थमा ओर्लिइन्, ‘घर चलाउने मान्छे नै नभएपछि भोकै बस्नुपर्ने अवस्था आयो। सासु पनि रोइरहने, बच्चाहरू पनि आफ्नो बावु सोधिरहने। त्यसपछि यसरी हुँदैन भनेर होटल चलाउन थालेँ। घर सेलकुवा (बारा) भए पनि यहाँ माइतीको (वीरगञ्ज) छेउ आएर यो होटल थालेको हुँ।’

मधेस आन्दोलनमा मारिएका श्रीमान् र त्यसपछिका रामकहानी बताइहँदा विनिताले होटलको काम पनि भ्याइरहेकी थिइन्, छोरालाई थुम्थुम्याउँदै।

उनले अहिलेको अवस्था बताइन्, ‘जाने त गइहाले। आफ्नो कर्म छोडेको छैन। होटलबाट दिनमा तीन सय जति पोस हुन्छ। त्यसैले परिवार चलाउँदै आएकी छु।’

विनितालाई लोग्ने लागेको आन्दोलनप्रति कुनै गुनासो छैन। गुनासो छ त, नेता र प्रहरीसँग। उनको स्वर केही ठूलो भयो, ‘आमआदमीको के दोष, प्रहरीले गोली नचलाएको भए यस्तो हुन्थ्यो?’

विनितालाई मधेसी मोर्चाका नेताहरुसँग प्रसस्त गुनासो छ। तर उनको गुनासो सुनिदिन कुनै नेता पुगेका रैनछन्। भन्छिन्, ‘एक वर्षको बच्चा काखमा थियो, घरको मुख्य मान्छे शहिद भएको उनीहरू थाहा छ नि। तर, अहिलेसम्म भोकै छ कि खाइरहेछ? एक पटक पनि सोध्न आएन।’

उनले आन्दोलनअघि पनि कोही नेताहरू चिनेकी थिइनन् न त अहिले नै चिनेकी छिन्। ‘बरु, पत्रकारहरुसँग चिनजान हुन थालिसक्यो, कहिलेकाहीँ सोध्न आइरहन्छन्।’ काम गर्दै बात मारिरहेकी उनी मतिर हेरेर फिस्स हाँसिन्।

विनितालाई न त श्रीमानले ज्यान गुमाउनुपरेको आन्दोलनले उठाएका मागबारे थाहा छ, न त संविधानबारे नै कुनै ज्ञान छ। त्यो आन्दोलनसँग विनिताको पनि सपना गाँसिएको छ। श्रीमान् गुमाउनुको छटपिट जोडिएको छ। उनलाई यत्ति थाहा छ, शोहन देशको लडाइँमा गएको हुँ भन्थ्यो, बच्चाहरु ठूलो मान्छे बनाउँछु भन्ने सपना बोकेर हिँड्थ्यो। त्यही कारण पनि उनलाई मधेस आन्दोलनप्रति कहिल्यै रिस उठ्दैन। बरु मनमा चिन्ताको सियोले घोचिरहन्छ, ‘के मेरा बच्चाहरु ठूलो मान्छे होलान् त?’

विनिताको भरोसा सरकारतिरै छ। श्रीमान् शहिद भएपछि १० लाख रुपैयाँ सरकारले नै दियो। छोराहरुकै खातिर उनले त्यो पैसाले जग्गा किनेकी छिन्। दिनरात नभनी खटिरहने विनितालाई घरिघरि शंकाले सताउँछ, ‘मलाई केही भइहाल्यो भने बच्चाहरुको के हाल होला? केही नोकरी मिले हुन्थ्यो।’

उनी फेरि श्रीमान्को यादमा फर्किइन्, ‘म एक्लै भएको पनि एक वर्ष भएछ। कहिलेकाहीँ सपनामा देख्छु, ब्युँझेपछि आँशु रोक्नै सक्दिन। बाबु खोजेर बच्चाहरुले पनि सम्झाई रहन्छन्। यिनीहरुकै मुख हेरेर चित्त बुझाउँछु। रुन छाड्छु।’

कुराको बिट मार्दै गर्दा उनले हिम्मत देखाइन्, ‘घबराए तो हमारा बच्चाके जिन्दगी बर्बाद हो जाहे न?’

सभार http://nepalkhabar.com/en/2016/community/3112/