संविधान संसोधनमा मोदीको समर्थन

120

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा संविधान संसोधनको लागि भइरहेको प्रक्रियालाई समर्थन जनाएको परराष्ट्रमन्त्री प्रकाशशरण महतले बताएका छन । प्रधानमन्त्री र मोदीसँगको सामूहिक बैठकमा सहभागी मन्त्री महतले नेपालको संविधान संसोधन आन्तरिक मामिला भएकोले मोदीले कुनै कुरा नगरेको बरु नेपालमा भएको प्रयासलाई समर्थन गरेको बताए।

प्रधानमन्त्री प्रचण्ड र मोदीका बीचमा आज हैदराबाद हाउसमा करिब आधा घण्टा ‘वन टु वन‘ बैठक पनि भएको थियो। शुक्रबार बिहान साँढे ११ बजेबाट सुरु भएको दुई पक्षीय बैठक १ बजेसम्म चलेको थियो। बैठक लम्बिएकै कारण दुवै प्रधानमन्त्रीले साँढे एक बजे मात्र पत्रकार सम्मेललाई सम्बोधन गरेका थिए।

ुवन टु वनु’ वार्तामा प्रधानमन्त्री प्रचण्डले समकक्षी मोदीसँग नेपालको समसामयिक राजनीति, संविधान निर्माणपछिको अवस्था र मधेस आन्दोलनको अपेक्षालाई सम्बोधन गर्न आफूहरुले गरिरहेको राजनीतिक प्रयासबारे परिचर्चा गरेको जानकारी प्रम निकटस्थहरुले दिएका छन्। जवाफमा भारतीय प्रधानमन्त्री मोदीले आफूले नेपालमा शान्ति, समृद्धि र आन्तरिक राजनीति स्थिर बनाउन सबै पक्षहरु एक ठाउँमा उभिएको देख्न चाहेको बताएको उनीहरुको भनाइ छ।

त्यसैगरी, भारतीय राष्ट्रपति प्रणव मुखर्जीले आगामी अक्टोबरमा नेपाल भ्रमण गर्नुअघि नै संविधान संसोधनका लागि नेपालले पहल गर्ने परराष्ट्रमन्त्री महतले बताए। उनले भने, ‘यसअघि नै हामीले संविधान संसोधनको प्रयास थालिसकेका छौँ र यो नेपालको अन्तरिक मामिला हो।’

दिल्लीस्थित नेपाली दूतवास स्रोतका अनुसार नेपालले संविधान संसोधन गरेपछि राष्ट्रपति मुखर्जी नेपाल आएर संविधानको स्वागत गर्ने भारतीय मनसाय छ ।

प्रधानमन्त्रीको भारत भ्रमणपछि दुवै मुलुकमा विश्वासको वातवरण बढेको छ। मन्त्री महतले भने, ‘विगतमा जुन तितो सम्बन्ध थियो, त्यसलाई बिर्सेर अब हिजोसम्म भएका विकाससम्बन्धी सहमति र सम्झौता लागू गर्ने वातवरण बनेको छ।’