एमालेको केन्द्रीय बैठकमा भूसालको बौद्धमार्गी प्रस्ताव

384

नेकपा एमालेको चालु केन्द्रीय समितिको बैठकमा पार्टी अध्यक्ष के.पी.ओलीले प्रस्तुत गरेको राजनीतिक प्रस्ताव भन्दा फरक मतको प्रस्तव दर्ज भएको छ । तर उनको यो प्रस्ताव यो केन्द्रीय कमिटीको बैठकमा भने छलफल हुने छैन । यस पछि बस्ने स्थायी समितिको बैठकमा यो प्रस्तावमा छलफल हुने बताइएको छ ।पार्टीका उपमहासचिव घनश्याम भूसालले “गुटबन्दी अन्त्य सम्बन्धी ”प्रस्ताव पेश गरेका हुन । उप–महासचिव भुसालले गुटबन्दी अन्त्य गर्न र आजका चुनौती सामना गर्न सक्ने पार्टी निर्माण गर्न भन्दै बौद्धमार्गी तरिकामा प्रस्ताव पेश गरेका हुन्। बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पेश गरेको प्रस्तावको प्रतिवादमा केन्द्रीय समितिमा छलफलका लागि भुसालले पेश गरेको २६ पृष्ठ लामो प्रस्तावको एक अंश प्रस्तुत छः

गुटबन्दीलाई निवारण गरौँ

गुटबन्दीको विषयमा माओवादी पार्टीबाट नकारात्मकरुपले शिक्षा लिने एउटा महत्वपूर्ण घटना छ। एक पटक माओवादीका अध्यक्ष प्रचण्डले भनेका थिए: ‘पार्टीको संगठनात्मक स्थिति भयावहरुपले विघटित र विसर्जित भइरहेको छ। …यथार्थमा पार्टी मरिरहेको छ, गुटहरु मौलाइरहेका छन्, गुटहरुभित्र पनि उपगुटहरु अझ झाँगिएका छन्, उपगुटहरुभित्र व्यक्तिगत स्वार्थले प्रमुख उत्प्रेरकको भूमिका खेलिरहेको छ।’ उनले यो कुरा त्यसबेला भनेका थिए जतिबेला उनको पार्टी संविधान सभामा अतुलनीयरुपले बहुमतका साथ उपस्थित थियो, ‘जनयुद्ध’ को श्यामकर्ण घोडा जङ्गलबाट निस्केर गाउँ–शहरमा हिन्हिनाउँदै दौडिरहेको देखिन्थ्यो। यो भनाइ अझ मार्मिक तब बन्यो जब उनको पार्टी एकपछि अर्को विभाजनका भङ्गाला हुँदै गुज्रिनु पर्‍यो। विभाजन त्यस पार्टीको जन्मदोष थियो, किनकि उसले आफ्नो सिद्धान्तमै चमत्कारपूर्ण आगमन र अवशादपूर्ण अवशान लेखेर ल्याएको थियो। तर इतिहासका सबैजसो साम्राज्यको पतन आत्मरति, जडता र भारदारी कचिङ्गलले भएको थियो भन्ने कुरा हामीले बिर्सिनु हुँदैन।

अहिले हाम्रो पार्टीका लागि गुटबन्दी सबैभन्दा ठूलो आन्तरिक समस्या हो। यसबारेमा म आफ्नो कुरा गौतम बुद्धका चार आर्यसत्यबाट शुरु गर्छु। जो यसप्रकार छन्ः दुःख छ, दुःखको कारण छ, त्यसलाई हटाउन सकिन्छ र दुःख हटाउने बाटो छ। त्यसअनुसार दुख छ भन्ने सत्यलाई स्वीकार गर्नु दुख निवारणका लागि पहिलो शर्त हो। यस सत्यलाई स्वीकार नगर्ने हो भने दुखको पुनर्जन्म भैरहन्छ, दुखले दुख जन्माइरहन्छ।

नेकपा एमालेमा गुटबन्दी छ
यो आज हामी सबैले स्वीकार गर्नै पर्ने सत्य हो। हामी सबै आमरुपमा गुटबन्दीमा छौँ। यसको वस्तुगत र प्रत्यक्ष प्रमाण के हो भने हामी नवौँ महाधिवेशनमा औपचारिकरुपमा दुइवटा गुटमा बाँडियौँ र निर्वाचित वा पराजित भयौँ। त्यसपछि हाम्रा सम्बन्धहरु महाधिवेशनमा को कता थियो भन्ने आधारमा बनेका छन्, र त्यस्ता गुटबन्दीका सम्बन्धहरु झन्–झन् झाँगिदै गएका छन्। महाधिवेशनपछि आजसम्म त्यसो गर्नु ठिक थियो वा गलत थियो भनेर हामीले मूल्याङ्कन गरेका छैनौँ। यो तथ्यलाई लुकाएर यदि मैले ‘म गुटबन्दी गर्दिन’, ‘म गुटमा छैन’ भनेँ भने त्यो आत्म वञ्चना वा पाखण्डमात्रै हुन्छ। हामी जुन–जुन हदमा, जुन–जुन तहमा गुटबन्दी गर्दैछौँ त्यो हदसम्म पार्टीप्रति इमान्दार छैनौँ। गुटबन्दी गरिरहने वा गुटबाट लिने फाइदा लिने तर त्यसका परिणामलाई स्वीकार नगर्ने कुरा कुनै पनि हिसाबले इमान्दारिता होइन।…

गुट निर्माणका कारणहरु छन्

गुटबन्दी भनेको पार्टीको औपचारिक–संस्थागत सीमाभन्दा बाहिर गएर व्यक्ति वा व्यक्तिहरुका स्वार्थका लागि पार्टीको औपचारिक–संस्थागत जीवनलाई प्रभावित पार्न निर्माण गरिने समूह र त्यसको गतिविधि हो। मुलुक, जनता, सिद्धान्त–विचार, मूल्य वा पद्धति जस्ता विषयले त्यस्तो समूहलाई संगठित गर्दैन, बरु व्यक्तिका स्थार्थहरुको व्यवस्थापकीय कला नै त्यस समूहलाई एकताबद्ध पार्ने मुख्य साधन हुन्छ। प्रायजसो ती गुटहरु ‘शक्तिशाली’ वा ‘प्रभावशाली’ व्यक्तिका वरिपरी बन्छन्। गुटका सदस्यहरुलाई बाँध्ने तत्व केवल नीजि स्वार्थको परिपूर्ति हो। ती गुटका नेताको मुख्य काम गुटसदस्यहरुका अनेक स्थार्थहरुको व्यवस्थापन गर्नु हो। उनीहरु पार्टी बनाउँदैनन् पार्टीका नाममा केवल गुटबन्दी गर्छन्। तर उनीहरु जे गर्छन् त्यो पार्टीकै नाममा गर्छन्।

जसरी अर्को पार्टीको विरोध र आफ्नो पार्टीको पक्षधरता सबै राजनीतिक पार्टीका सदस्यको सामान्य योग्यता हुन्छ, त्यसैगरी अर्को गुटका व्यक्तिहरुको विरोध र आफ्नो गुटको पक्षधरता नै हरेक गुटका सदस्यहरुको मुख्य योग्यता बन्छ। त्यसैगरी हरेक गुटमा अर्को गुटको सत्तोसराप गर्ने र आफ्नो गुटको महिमामण्डन गर्नेहरुको बढुवा हुँदै जान्छ। गुटभित्रै पनि विधि–विधान, अनुसाशन आदिको लाज वा डर मान्नेहरु क्रमशः पछि धकेलिँदै जान्छन् किनकि तिनले गुटबन्दीको मैदानमा आवश्यक ‘योग्यता’ देखाउन सक्दैनन्। यसरी गुटहरु विस्तारै राजनीतिक गुण्डाहरुको कब्जामा पर्दै जान्छन्। गुटहरु पार्टीमा प्रभावशाली हुँदै जाँदा पार्टी नै गुटहरुको फेडेरेशन (सङ्घ) मा रुपान्तरित हुँदै जान्छ। शुरुमा गुटहरु पार्टीभित्रैबाट जन्मिन्छन्, अब गुटले पार्टीमा शासन गर्छन्, पार्टीमार्फत् समाज र राज्यमा पनि हप्किदप्की बढाउँदै जान्छन्।

गुटबन्दीको पनि अर्थराजनीति वा समाजशास्त्र हुन्छ। सामन्ति समाजको गुटबन्दी शक्ति र प्रसिद्धिका लागि हुन्थ्यो। सामान्यतः त्यस्तो गुटबन्दीको आधार परिवार, कूल, वंश वा गोत्र वा जातिको परम्परा, धर्म वा संस्कृति हुन्थ्यो। संसारभरी मध्यकालीन राज्यहरुमा भएका भारदारहरुको कचिङ्गलको इतिहासले त्यहि बताउँछ। पुँजीवादी समाजमा गुटबन्दी पद र पैसाका लागि हुन्छ। पुँजीवादले परिवार, कुल, धर्म, नैतिकता, मूल्यजस्ता सामन्ति अवधारणाहरुमाथि पुँजीको चीसो पानी खन्याउँछ र विशुद्ध नाफालाई स्थापित गर्छ भन्ने कुरा माक्र्स–एंगेल्सले ‘कम्युनिष्ट पार्टीको घोषणापत्र’ मा कति जीवन्त व्याख्या गरेका छन्!

सामन्ती समाजमा प्रसिद्धिले शक्ति र शक्तिले प्रशिद्धिलाई बढाउँथे। पुँजीवादमा पुँजीले पद र पदले पुँजीलाई बढाउँदै लैजान्छन्। राजनीतिक विचारधारा, आफैले स्वीकार गरेका सिद्धान्त, त्यसका विधि–विधान, त्यसप्रति नैतिक प्रतिबद्धता र व्यवहारिक जीवनमा त्यसको अनुशासनजस्ता ‘पुराना’, ‘नदेखिने’ र ‘वास्तविक जीवनभन्दा टाढाका’ मूल्यहरुको दोहोलो नकाढिकन पुँजीवादी राजनीतिले आफ्नो तरक्की देखाउनै सक्दैन। यस क्रममा पार्टी भनेको पुँजी–बजारका व्यापारिक गुटहरुको भिडन्तको थलोजस्तो हुन जान्छ– कार्टेलिङ्, स्पेक्युलेशन, राज्यको कानूनको धज्जी र कालोबजारीजस्ता ‘नयाँ’ ‘देखिने’ र ‘जीवनोपयोगी’ मूल्यहरुलाई स्थापित गर्न गुटहरु लूछाचुडी गर्छन्। जसरी पुँजीबजारमा योग्यताको निर्धारण नीजि नाफाले गर्छ, त्यसैगरी गुटहरु र गुटमार्फत् पार्टीमा योग्यताले पदको होइन पदले योग्यताको निर्धारण गर्छ।

आधुनिक समाजवादी पार्टीले आफ्ना विचार–सिद्धान्तलाई समाजमा लैजान्छ, जनताको परिक्षामा उभिन्छ, स्वीकृति लिन्छ र त्यस स्वीकृतिको वैधताका आधारमा राज्यलाई जनताको हितमा रुपान्तरित गर्छ, त्यसबाट जनतामा त्यस पार्टीको प्रभाव विस्तार हुन्छ र त्यसले अझ ठूलो दायराको सहमति निर्माण हुन्छ। यस क्रममा समाजमा पार्टीको वर्चस्व आजभन्दा भोलि, भोलिभन्दा पर्सी बढ्दै जान्छ–पुरानो पुँजीवादी समाजको ठाउँमा समाजवाद निर्माण हुँदै जान्छ। यहि नै आजको माक्र्सवादी–समाजवादी बाटो हो। तर गुटबन्दीले माक्र्सवादी–समाजवादी यात्राको आरम्भमै विचार–सिद्धान्तको नाभीमा आक्रमण गर्छ। त्यसले पार्टीमा विचार–सिद्धान्तलाई वेवास्ता गर्छ, सकेसम्म अरुची जगाउँछ, इतिहासलाई इन्कार गर्छ। हरेक घटनाको अध्ययन इतिहास र सिद्धान्तको नजरबाट होइन आफु बसेको ठाउँबाट गर्छ। विचार–सिद्धान्तको ठाउँमा स्वार्थशास्त्रलाई राख्छ, सिद्धान्तहीनतालाई नै सिद्धान्त बताउन थाल्छ। यो गुटबन्दी यात्राको पहिलो चरण हो।

त्यसपछि गुटबन्दी दोश्रो चरणमा प्रवेश गर्दछ। यसबेला गुटले पार्टीको वैधानिक व्यवस्थामाथि आक्रमण गर्न थाल्छ– पार्टीका वैधानिक व्यवस्थाहरुको ठाउँमा नक्कली संरचनाहरु स्थापित गर्न थाल्छ। जो नेता छ उ नै विधान हो जस्तो गर्न थाल्छ। यहाँसम्म आइपुग्दा पार्टीका नाममा गुटहरु क्रियाशील हुन थाल्छन्– पार्टी सदस्यता, कमिटीका कामहरुको संचालन, पदहरुको वितरण, राजकीय निकायका नियुक्तिहरु, दण्ड–पुरस्कार आदि सबै प्रक्रियामा गुटहरु निर्णायक हुन्छन्। पार्टीमा व्यक्तिका हितहरुको लूछाचुँडीलाई ‘प्रतिस्पर्धामाश्रेष्ठता हासील गर्ने’ भनेर सिद्धान्तको जलप लगाइन्छ, ठाउँ–कुठाउँ विभिन्न नेताका उक्तिहरु तेस्र्याइन्छ, कमरेड मदन भण्डारीलाई समेत घिसारिन्छ। यो दोश्रो चरणमा अपादर्शी, दोहोरो–तेहोरो मापदण्ड भएका मानिसहरुको बोलवाला चल्न थाल्छ।

‘सिद्धान्तको लागि जीवन होइन, जीवनका लागि सिद्धान्त हो’ भन्ने वाक्यांशमा परेको जीवनको शास्त्रीय अर्थको विनिर्माण गरिन्छ, जीवन भनेको व्यक्तिको दैनिक जीवन हो र हरेक व्यक्तिको लागि आफ्नो स्वार्थ नै खास सिद्धान्त हो भन्ने व्याख्या स्थापित हुन थाल्छ। अब व्यक्तिहरुले जुन भाषा बोल्छन्, त्यो नक्कली हुन थाल्छ, गुटहरुले जुन दावी गर्छन् ती पनि नक्कली हुन्छन्। समाजवादी विधारधाराको नजरबाट हेर्दा अनौठो दृष्य देखिन्छ– सबै नक्कलीहरु अरु नक्कलीहरुसँग नक्कली सम्बन्ध बनाइरहेका हुन्छन्। नक्कलीहरुका प्रतिस्पर्धामा सबैभन्दा नक्कलीहरु नैश्रेष्ठ हुन्छन्। पुरानो जमानाका मूल्यहरु भत्किँदै गरेको देख्दा रोइ–कराई गर्ने पाका–पुराना कमरेडहरु नयाँ जमानाको प्रतिस्पर्धाको अखडामा टिक्नै सक्दैनन्ः या त किनारा लाग्छन् या नयाँ भाषा बोल्नु पर्दा शब्दका स्वराघातहरु नमिले पनि जबर्जस्ती बोल्छन् र ‘नयाँ’ युगमा आफुलाई अनुकुलन गर्छन्, राजनीतिको पेन्सन पकाउँछन्।

गुटहरुको विकासको दोश्रो चरणमा जुन प्रवृत्तिहरु देखिन्छन् त्यस्ता प्रवृत्तिहरुका विरुद्ध तर्क–बहस पनि भैरहन्छ। गुटहरुले बेला–बेलामा सिद्धान्तको आड लिन खोज्छन्। एउटै गुटहरुभित्र पनि बेला–बेलामा विधारधाराको, वैधानिक व्यवस्थाको प्रश्न उठिरहन्छ। तर ती क्रमशः कमजोर बन्दै जान्छन्। गुटहरु अर्धबैधानिक हुन्छन्। यो चरण समाजवादी–क्रान्तिकारी पार्टी र नयाँ ‘श्रेष्ठतावादी’ पार्टीको तानातानीको चरण हो। त्यसैले यो पार्टीका लागि संरचनात्मक सङ्कटको चरण हो, पुरानो संरचना भत्किँदै गरेको तर नयाँ संरचना पूर्णरुपले नबनिसकेको चरण हो। जब दोश्रो चरणको गुटबन्दी पूर्णतः विकसित हुन्छ तब गुटबन्दी तेश्रो चरणमा पुग्छ। यहाँसम्म आइपुग्दा पार्टी नयाँ संरचनामा ढालिइ सकेको हुन्छ। गुटहरु वैधानिक बन्छन्, पार्टीका हरेक विषय गुटहरुको खुल्लम्खुल्ला सौदावाजीका विषय बन्छन्। अर्थात्, अब हिजो बुर्जुवा वा पुँजीवादी भनिएका पार्टीहरुसँग यसको भिन्नता केवल पार्टीका नाममा, झण्डामा र चुनाव चिन्हमा मात्रै रहन जान्छ। पार्टी तर्साउन र फकाउन सक्नेहरुको हातमा पुग्छ। त्यसैले आज हाम्रो पार्टीको गुटबन्दी कुन चरणमा, कस्तो स्वरुपमा छ भन्ने विषयमा खुल्ला दिमागका साथ छलफल गर्नु पर्छ।

गुटबन्दी निवारण गर्न सकिन्छ, त्यसको उपाय छ

‍-कसरी एउटा क्रान्तिकारी पार्टी गैरक्रान्तिकारी बन्दै जान्छ र सिद्धान्त, विचार, क्रान्तिकारी पार्टीहरुको उद्भव, विकास र पतनजस्ता प्रश्नमा माक्र्सवादी सिद्धान्तका पछिल्ला सिद्धान्तकार तथा अध्येताहरुले प्रसस्त अध्ययन गरेका छन्। माक्र्सवादी सिद्धान्तको ढाँचामा बुद्धका चार आर्य सत्यलाई व्याख्या गर्दा गुटबन्दीबाट निर्माण भएको दुखको भवसागर जतिसुकै ठूलो भए पनि, गुटबन्दीको जतिसुकै जगजगी भए पनि त्यसको अस्तित्वलाई स्वीकार गर्ने, कारण पत्ता लगाउने, निदान खोज्ने र दुख निवारणको बाटो अवलम्बन गर्ने हो भने त्यसबाट पार पाउन सकिन्छ र पार्टीको क्रान्तिकारी तथा समाजवादी चरित्रलाई जोगाइ राख्न सकिन्छ। इतिहासका समस्त शिक्षाहरुको सार यहि हो।

नेकपा एमालेको निर्माण र विकाससँगै यसले दक्षिणन्थ र उग्रपन्थका विरुद्ध सफलता हासिल गर्दै आएको छ। आरम्भमै उल्लेख गरिएका सामथ्र्यले गर्दा नेपालका कुनै पनि अन्य पार्टीको तुलनामा नेकपा एमाले नै सबैभन्दा सङ्गठित पार्टी हो भन्ने कुरा प्रष्ट छ। अहिलेको गुटबन्दीले पार्टीमा अव्यवस्था ल्याएको छ तर यो अव्यवस्थाले नयाँ व्यवस्था पनि खोजीरहेको छ। पार्टीमा भएको गुटबन्दीबाट आर्थिक वा अन्य फाइदा उठाउने/उठाइरहेका थोरै व्यक्तिहरु बाहेक गुटबन्दीमै लागेको भए पनि ठूलो पङ्तिले या त गुटबन्दीको विरुद्धमा छ या गुटबन्दीले नै जनताको बहुदलीय जनवादको रक्षा गर्छ भन्ने बुझेको छ। अर्थात्, आफै पनि कुनै गुटको सेवक भैरहेको तर आफै गुटबन्दीमा छु भन्ने थाहा नपाइरहेका इमान्दार कार्यकर्ताहरु स्वयंमा गुटबन्दीको विरुद्ध छन्। पार्टी कार्यकर्ताको ठूलो पङ्तिले पार्टी निर्माणका अनेकौँ उतार–चढाव व्यहोरेको वा देखेको छ। यो पार्टी निर्माणमा बगाएको रगत–पसिनाका कारणले पनि उनीहरुले यो पार्टीको भविष्यमा आफ्नो भविष्य देख्छन्। यी यस्ता आधारहरु हुन् जसले गुटबन्दी निवारण गर्ने आधारहरु दिन्छन्।

बैठकमा जब गुटबन्दीको चर्चा हुन्छ तब हामीले ‘अबदेखि गुटबन्दी नगर्ने’ प्रस्ताव पारित गर्छौँ। तर प्रस्ताव पारित गरेर गुटबन्दीको अन्त्य भएको छैन, हुँदैन। भएको विधिलाई थन्क्याएर र गुटबन्दी अन्त्य गर्न प्रस्ताव पारित गरेर हामी कहिँ पुग्दैनौँ। किन भने गुटबन्दीको आरम्भ प्रस्ताव पारित गरेर भएको होइन। त्यसैले, गुटबन्दीको वस्तुगत कारण खोज्नु पर्छ र समाधानको बाटो हिँड्नु पर्छ। हाम्रो समस्या यहिँनेर छ। त्यस बाटोको पहिलो पाइलो पार्टीलाई हामी आफैले बनाएका विधि–विधानमा ल्याउने हो। सबैभन्दा पहिले पार्टी स्थायी कमिटी र सचिवालयलाई विधिअनुरुप चलाउने तयार होऔँ। त्यस दौरानमा हामीले केन्द्रीय कमिटीलाई विधिअनुरुप चलाउन थाल्नेछौँ र क्रमशः पार्टीका सबै अङ्गहरु व्यवस्थित हुँदै जानेछन्। अहिले पनि नेकपा एमालेका लागि तुलनात्मक लाभको एउटा क्षेत्र सङ्गठन नै हो। यो जसरी बनेको छ त्यसको बनोट नेपालका अन्य पार्टीहरुको तुलनामा धेरै समृद्ध छ।

हाम्रो पार्टीको विधान राज्यको पुरानो ढाँचामा आधारित भएर बनेको थियो। अहिले हामी संघीय ढाँचामा प्रवेश गरिसकेका छौँ। यसक्रममा विधानका धेरै प्रावधानहरु खल्बलिँदै छन्÷खल्बलिने छन्। प्रादेशिक कमिटी लगायत कैयौँ मामिलामा हामीले बाधा अडकाउ फुकाउने उपायबाट काम चलाउँदै छौँ। यो अवस्था लामो समय राख्नु हुँदैन। किनकि त्यसले तदर्थवादलाई प्रश्रय दिन्छ। विधानकै व्यवस्था बमोजिम हामीले महाधिवेशन भएको १८ महिनाभित्र विधान अधिवेशन आयोजना गर्ने र वैधानिक व्यवस्था गर्ने निर्णय गरेका थियौँ। त्यसैले विधान अधिवेशनको आयोजना यथाशक्य छिटो गर्नु पर्छ।

कुनै पनि पार्टीको विधान भनेको त्यस पार्टीका सदस्य र कमिटीहरुको अधिकार र कर्तव्यको व्यवस्था हो। त्यो व्यवस्था पार्टीको सिद्धान्त र कार्यक्रम अनुसार निर्धारित हुन्छ। त्यसको अर्थ के हो भने कुनै पनि पार्टीको सिद्धान्त र कार्यक्रमले पार्टीमा व्यक्ति र कमिटीहरुको अधिकार र कर्तव्यलाई निर्देशित गर्छ। सिद्धान्त र कार्यक्रमको जानकारीको अभावमा कुनै पनि सङ्गठनको अर्थ रहन्न। सिद्धान्त र कार्यक्रमप्रति व्यक्तिको प्रतिवद्धताले सङ्गठनप्रति प्रतिवद्धता सिर्जना गर्छ। यसर्थ पार्टी निर्माणको पहिलो काम सिद्धान्त र कार्यक्रमका बारेमा आफ्ना सदस्यहरुलाई अवगत गराउनु हो। नवौँ महाधिवेशनपछि यो काम रोकिएको छ। अहिले स्कूल विभागले तयार गरेको पाठ्य सामग्रीमा भर परेर नवौँ महाधिवेशनको सिद्धान्त र कार्यक्रम स्थापित हुँदैन किनकि ती सामाग्रीले महाधिवेशनको सैद्धान्तिक मर्मलाई बुझ्न र बोक्न सकेका छैनन्। तसर्थ नवौँ महाधिवेशनका निर्णयहरु पार्टी व्यापिरुपमा स्थापना गर्नु नितान्त जरुरी छ। त्यसले पार्टी कमिटी र सदस्यहरुलाई आफ्ना अधिकार र कर्तव्यको पालना गर्न मनोवैज्ञानिकरुपमा तयार गर्नेछ। त्यसबाट पार्टी सदस्यहरुले कुन कुरा पार्टीको सिद्धान्तको पक्षमा छ र कुन विरुद्धमा छ भन्ने आफैले विश्लेषण गर्न थाल्नेछन्। र, कसले गुटबन्दी गरिरहेको छ र कसले पार्टी निर्माण गरिरहेको छ भन्ने थाहा पाउने छन्।

सङ्गठनका क्षेत्रमा हामीले नयाँ व्यवस्था गर्नु पर्ने छ। पहिलेको सङ्गठन राजनीतिक क्रान्ति गर्ने उद्देश्यले बनेको थियो, अहिलेको सङ्गठन क्रान्तिका राजनीतिक उद्देश्यलाई सामाजिक–आर्थिक क्षेत्रमा लागू गर्ने ध्येयले बनाउनु पर्नेछ; हिजोको पार्टी केवल क्रान्तिकारी पार्टी थियो, आजको पार्टी शासकीय चरित्र पनि भएको पार्टी हुने छ; सत्तामा रहेका कतिपय कम्युनिष्ट पार्टीको चरित्र केवल शासकीय छ, हाम्रो पार्टीको चरित्र आन्दोलनकारी पनि हुनु पर्नेछ। यसरी हेर्दा हामी सङ्गठनात्मक सिद्धान्तका क्षेत्रमा बिल्कुलै नयाँ हिसाबले अध्ययन र अभ्यास गर्नु पर्ने ठाउँमा उभिएका छौँ। यो सङ्गठन विभाग वा सचिवालय वा कुनै कार्यदलले मात्रै पूरा गर्ने काम होइन। हामी नयाँ युगमा नयाँ पार्टी बनाउँदैछौँ भन्ने मनोविज्ञानका साथ सम्पूर्ण पार्टी पङ्तिलाई यस विषयको छलफलमा सहभागी गराएर नयाँ वैधानिक व्यवस्था स्थापित गर्न बेलैमा ध्यान दिनु पर्छ। यसरी नयाँ युगको नयाँ पार्टी निर्माण हुँदै जाँदा अहिलेको गुटबन्दी पनि अन्त्य हुँदै जानेछ।

…अन्त्यमा, फेरि गौतम बुद्धको एउटा सन्दर्भ यहाँ उल्लेख गर्न चाहान्छुः

तत्कालीन विकसित मगध राज्यका राजा अजात शत्रुले अविकसित बज्जीकामाथि आक्रमण गर्ने निर्णय गरे। त्यसै बेला बुद्ध मगध पुगेका थिए। आफ्नो योजनाबारे सल्लाह माग्न राजाले आफ्ना मुख्य दूतलाई बुद्धकहाँ पठाए। जब दूतले राजाको योजना बुद्धलाई बताए र सल्लाहका लागि अनुरोध गरे बुद्धले नजिकै बसेका आफ्ना मुख्य चेला आनन्दतिर फर्केर सोधेः

बुद्धः आनन्द ! बज्जीहरु पहिले जस्तै सङ्गठित छन्?

आनन्दः हो पहिले झैँ अहिले पनि सङ्गठित छन्।

बुद्धः उनीहरुले आफ्ना सबै निर्णय सामुहिकरुपमा गर्छन्?

आनन्दः हो, गर्छन्।

बुद्धः उनीहरु जब आफ्ना समस्याका बारेमा छलफल गर्छन्, पहिले झैँ सानो–ठूलो नभनिकन समान हैसियतमा रहेर छलफल गर्छन्?

आनन्दः हो, त्यसै गर्छन्।

बुद्धः पहिले–पहिले आफ्ना निर्णय लागू गर्न सबैले दिलोज्यानले काम गर्थे, आजकल पनि त्यसै गर्छन्?

आनन्दः सबैले सामुहिक निर्णय गर्छन्, सबैले लागू गर्छन्।

त्यसपछि बुद्ध राजाका दूततिर फर्के र भनेः यदि बज्जीहरु सामुहिकतामा त्यत्ति बढी विश्वास गर्छन् भने उनीहरुमाथि विजय पाउन सम्भव छैन। उनीहरुमाथि आक्रमण गर्ने धृष्टता नगर्नु।

यो शिक्षा आज नेकपा एमालेका लागि पनि असाध्यै महत्वको छ। हामीले पनि सामुहिकरुपमा छलफल गर्ने, निर्णयमा सबैलाई सहभागी गराउने र त्यो निर्णयको पालना सबैले गर्ने हो भने राष्ट्रिय एकतालाई सुदृढ गर्दै र राष्ट्रिय पुँजीको विकास गर्दै समाजतर्फ अगाडि बढ्न कसैले रोक्न सक्दैन।

४ असौज २०७३