साझाले बीरगंजकालागि रुट पर्मिट माग्यो

697

बीरगंज १५ असोज
साझा यातायातले काठमाडौं(वीरगञ्जमा रुटमा बस सेवा सञ्चालनका लागि इजाजत मागेको छ । यातायात व्यवस्था विभागसँग साझाले बस सेवा सञ्चालनका लागि रुट पर्मिट मागेको हो ।
रुट पर्मिट पाएलगत्तै वीरगञ्जमा पनि पुनः बस सेवा सुरु गर्ने साझाका निमित्त प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेयले जानकारी दिए । उनका अनुसार आइतबारदेखि बाग्लुङ र गोरखाका लागि लमो दुरीमा बस सेवाको शुभारम्भ हुनेछ । एक दशकपछि साझाले फेरि लामो रुटमा बस चलाउन लागेको हो ।
साझाले बाग्लुङका लागि ५ सय ५० रुपैयाँ भाडादर तोकेको छ भने गोरखाका लागि २ सय ८५ रुपैयाँ लाग्ने पाण्डेयले बताए । साझाले पुल्चोक, नयाँबसपार्क र कलंकीमा टिकट काउन्टर खोलेको छ ।
दुई रुटमा अब साझाका नियमित बस चल्नेछन् । साझाले काठमाडौं महानगरपालिकालाई सेयर दिएर ३० वटा नयाँ बस भित्र्याएको छ । नयाँ थपिएसँगै हाल साझासँग ४६ वटा बसहरु छन् । काठमाडौं भित्र साझाका नयाँ बस चल्ने रुट भने तय भएको छैन ।