चौकीदारको छोराबाट खर्बपति

425

फणिन्द्र दाहाल काठमाडौं, असोज १५

भारतको ४८ औँ धनी व्यक्तिका रुपमा सूचीकृत पतञ्जली योगपीठका महामन्त्री आचार्य बालकृष्णले नेपालमा ठूलोस्तरको काम गर्ने उत्कट चाहना व्यक्त गरेका छन्।

पुर्ख्यौली गाउँ स्याङ्जाको काफलडाँडा भएका बालकृष्ण प्रख्यात भारतीय योगगुरु रामदेवका सबैभन्दा निकट विश्वासपात्र तथा भारतमा दैनिक उपभोग्य सामाग्रीको उत्पादन र बिक्री वितरणमा कीर्तिमान बनाइरहेको पतञ्जली आयुर्वेद लिमिटेडका प्रबन्ध निर्देशक हुन्।

हरिद्वारस्थित पतंजलि योगपीठमा रहेको आफ्नो कार्यालयमा दिएको अन्तर्वार्तामा आचार्य बालकृष्णले नेपालप्रति आफ्नो ‘विशेष लगाव’ रहेको बताए। भारतबाहिर पतजंलि योगपीठले आफ्नो पहिलो कारखाना नेपालको बारा जिल्लामा आगामी नोभेम्बरमा उद्घाटन गर्दैछ।

धनीः

हालै एउटा प्रतिष्ठित अन्तर्राष्ट्रिय पत्रिका फोर्ब्सले सार्वजनिक गरेको धनाढ्यहरुको सूचीमा करिब साढे दुई खर्ब रुपैयाँ सम्पत्ति भएका आचार्य बालकृष्ण भारतका ४८ औँ धनी व्यक्ति भएको जनाएको थियो।

उसका अनुसार तीव्र रुपमा दैनिक उपभोग्य सामाग्रीको विस्तार गरिरहेको १० वर्षअघि स्थापित पंतजलि आयुर्वेद लिमिटेडको ९७ प्रतिशत स्वामित्व बालकृष्णसँग छ।

त्यसअघि चीनमा मुख्यालय रहेको एउटा प्रतिष्ठित अनुसन्धान समूहले पतञ्जलीले आँधीबेहरी ल्याएको र दैनिक उपभोग्य सामाग्री उत्पादन गरिरहेका अरु बहुराष्ट्रिय कम्पनीहरुको व्यापार सुकाइदिएको टिप्पणी गरेको थियो।

अन्तर्वार्तामा आचार्य बालकृष्णले पतञ्जलीको सम्पत्ति आफ्नो व्यक्तिगत धन नभएको बताए।उनले भने, ‘सेयर बजारमा अहिलेसम्म सूचीकृत नभएको पतञ्जली कम्पनीको सम्पत्तिले यसरी मान्यता पाउनु खुसीको कुरा हो। उपभोक्ताको विश्वासले हाम्रो ब्राण्डको यस्तो मूल्यांकन भएको हो।’

योगगुरु रामदेव स्वयंको नेतृत्वमा रहेको पतञ्जलीमा उनको व्यक्तिगत स्वामित्व छैन। झण्डै ३५० थरीका सौन्दर्य, आयुर्वेद र दैनिक उपभोग्य सामग्री उत्पादन गर्ने उक्त कम्पनीको व्यवसाय विस्तार र प्रवर्द्धनमा भने रामदेवले भूमिका खेलिरहेका छन्। पतञ्जली आयुर्वेद लिमिटेडको दैनिक कामकाज र सञ्चालन योगगुरु रामदेवको गुरुकुलमा अध्ययन गर्दाताकाका साथी ४४ वर्षीय आचार्य बालकृष्णले गर्दै आएका छन्।

साधारणः

भारतको उत्तराखण्डस्थित हरिद्वार नजिकै रहेको पतञ्जली योगपीठको मुख्यालय भवनको पहिलो तल्लामा कार्यालय रहेका आचार्य बालकृष्ण आफ्नो सादा जीवनशैलीका कारण पनि परिचित छन्। योगगुरु रामदेवसँगका केही तस्बिर, बुद्ध धर्मको एउटा थान्का, केही पुस्तक र सजावटका सामाग्री राखिएको उनको कार्यालय पनि साधारण खालको देखिन्छ।

उनको कार्यालयमा एउटा कम्प्युटर पनि छैन। उनी आफ्नो मस्तिष्क नै कम्प्युटर भएको बताउँछन्। त्यसबाहेक पतंजलिको कामबाट अहिलेसम्म कहिल्यै विदा नलिएको उनको भनाइ छ।

प्राय: सेतो कमिज लगाएर बस्ने उनी भन्छन्, ‘विदा लिएर मैले के गर्ने? मसँग विश्राम लिएर गर्ने केही योजना नै हुँदैन। त्यही भएर चाहे शनिबार होस् या बिहीबार म प्रत्येक दिन बिहानदेखि बेलुकासम्म काम गर्छु र शतप्रतिशत आफ्नो समय कामलाई दिन्छु।’

सहयोगीहरुले कम्प्युटरबाट गर्नुपर्ने आफ्ना कामहरु गरिदिने उल्लेख गर्दै उनले सञ्चार र सूचनाका लागि मोबाइल फोन प्रयोग गर्ने बताए। झण्डै ११ हजार मानिसरु काम गर्ने पतञ्जली आयुर्वेदको नीति, उत्पादन, विस्तार र योजना उनले हेर्दै आएका छन्। बाबा रामदेव र आफूले पतञ्जलीबाट कुनै तलब लिने नगरेको उनले जनाए।

पुर्खाः

नेपालको स्याङ्जास्थित काँफलडाँडाको पुर्ख्यौली गाउँमा हुर्किएका उनी ५ कक्षा पढेपछि भारत पसेका थिए। आफ्ना पिताले भारतमा चौकीदारीसहित विभिन्न मजदुरी गरेको उल्लेख गर्दै आचार्य बालकृष्णले सन् १९८८ मा हरियाणाको खानपुरमा गुरुकूलमा अध्ययन गर्दादेखि योगगुरु रामदेवसँग गहिरो मित्रता बसेको बताए।

आफ्ना आमाबुबा र आफन्त अहिले पनि स्याङ्जामै बसिरहेको र परिवारले सामान्य खेतीपाती गरी जीवनयापन गरिरहेको उनले बताए। उनले भने, ‘नेपालप्रति मेरो भावनात्मक लगाव छ। मलाई गर्व छ कि मेरो पूर्वज, मेरो परम्परा, मेरो संस्कार त्यहाँको हावापानीमा हुर्किएको हो। मेरो मनमा भावना छ कि नेपालका लागि एउटा केही ठूलो काम गर्नुपर्छ।’

उनले त्यस्तो ठूलो काम अघि बढाउन समयको आवश्यकता हुने भन्दै युवा शक्तिलाई ऊर्जा दिने गरी शिक्षालगायत क्षेत्रमा काम गर्न चाहेको बताए। स्याङ्जास्थित पुर्ख्यौली गाउँमा पनि केही काम गर्न आफूलाई मन लागेको उनले दोहोर्‍याए। नेपालमा जडिबुटी, कृषिको व्यावसायीकरण र उन्नत प्रजातिका गाईपालनलाई प्रवर्द्धन गर्न योजना बनाएको उनी बताउँछन्।

आयुर्वेदः

आयुर्वेद सम्बन्धि कैयौँ पुस्तक लेखेका आचार्य बालकृष्णसँग जडिबुटीको बारेमा विशेष ज्ञान रहेको बताइन्छ। पतञ्जली आयुर्वेदले जडिबुटीको अनुसन्धानका लागि झण्डै एक सय जना वैज्ञानिकलाई परिचालन गरिरहेको र आफूले जडिबुटीसम्बन्धी जानकारीमूलक ‘वर्ल्ड हर्बल इन्साइक्लोपिडिया’ तयार पारिरहेको उनले जनाएका छन्।

सानो हुँदा गाउँमा आफ्नी आमाबाट जडिबुटी सम्बन्धि ज्ञान पाएको जनाउँदै उनले आयुर्वेदसम्बन्धि आफ्नो ज्ञानको प्रेरणाश्रोत आमा नै भएको उनले उल्लेख गरे। झण्डै ६५ हजार प्रकृतिका जडिबुटीका बारेमा आफूहरुले काम गरिरहेको बताउँदै उनले आयुर्वेदसम्बन्धि आफूले लेखेको ‘औषध दर्शन’ नामक पुस्तक एक करोड प्रतिभन्दा बढी बिक्री भएको जनाए।

आर्युवेदसम्बन्धि अहिले काम गरिरहेको इन्साइक्लोपेडिया झण्डै डेढ लाख पानाको हुने उनको भनाइ छ।

विवादः

बाबा रामदेवसँग मिलेर पतञ्जलीको सफलतापूर्वक नेतृत्व गरिरहेका आचार्य बालकृष्ण आफ्नो नागरिकता र शैक्षिक पृष्ठभूमिलाई लिएर विवादको घेरामा तानिएका छन्। उनको भारतीय नागरिकता र राहदानी अनि शैक्षिक प्रमाणपत्रसम्बन्धि विवाद केन्द्रीय जाँच ब्युरो सिबिआइले जाँचबुझ गरेपछि केही वर्षअघि उनी केही समय भूमिगत समेत भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।

सिबीआइले आफूविरुद्ध दायर गरेको मुद्दा झुठो भएको उल्लेख गर्दै उनले विगतको कंग्रेस आइको सरकारले ‘योजनाबद्ध षड्यन्त्र’ गरी आफूविरुद्ध अभियोग लगाएको बताए।सम्पूर्णानन्द विश्वविद्यालय अझै अस्तित्वमा रहेको भन्दै उनले आफूसँग त्यसका प्रमाणपत्रहरु सुरक्षित रहेको र ती कागजात फेला नपरे विश्वविद्यालय नै त्यसमा दोषी हुने बताए।

यसअघि आफ्नो नागरिकतासम्बन्धि विवाद बाहिर आएपछि आचार्य बालकृष्णले सन् २०११ मा हरिद्वारमा पत्रकार सम्मेलन गरी आफू आफ्ना माता-पिता मजदुरीको सिलसिलामा भारतमा रहँदा हरिद्वारमा जन्मिएको बताएका थिए। सानोमा केही वर्ष नेपालमा बिताएपछि आफू भारतमै बसिरहेको उनले बताए।

सन् २०१४ मा भारतीय जनता पार्टीका नरेन्द्र मोदी नेतृत्वको सरकार बनेपछि अवैध धन आर्जनसहितका ती आरोपहरुमाथिको अनुसन्धान बन्द गरिएको भारतीय पत्रिका इन्डियन एक्सप्रेसले उल्लेख गरेको छ।

पीडाः

नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो राजकीय भ्रमणका क्रममा पतञ्जली योगपीठको अवलोकन गरेपछि आयोजित कार्यक्रममा सम्बोधन गर्दै आचार्य बालकृष्णले नेपालका जडिबुटीले दुबै देशका जनतालाई स्वस्थ्य बनाउन भूमिका खेलिरहेको बताएका थिए।

नेपाली प्रधानमन्त्रीको परिश्रमका कारण नेपालमा राजनीतिक परिवर्तन सम्भव भएको उल्लेख गर्दै पछिल्लो सरकारले दुई देशबीचको सम्बन्ध थप सृदृढ बनाउने विश्वास उनले व्यक्त गरेका थिए। पतंजलीको भ्रमणपछि प्रधानमन्त्री दाहालको मन बदलिएको र अध्यात्मवादप्रति थप सम्मान बढेको आफूले ठानेको उनी बताउँछन्।

‘कुनै बेला कम्युनिष्टको नाममा, मार्क्सवाद, लेनिनवाद र माओवादको नाममा रुढिवादको खण्डन गर्दा आध्यात्मिक तागत पनि खण्डन गरिन्छ। यहाँ भइरहेका मूर्त कामबाट उहाँ आध्यात्मवादप्रति प्रभावित भएको पाएको छु,’ उनले भने।

आचार्य बालकृष्णले हालैका वर्षहरुमा नेपालमा बढिरहेको जातिवाद र क्षेत्रीयतावादले आफूलाई दुःखी बनाएको बताए। उनले भने, ‘हिमाल, पहाड, मधेस सबै मिलेर राष्ट्रवादको एउटै अवधारणा लिएर अघि बढ्नुपर्छ, अन्यथा मेरो यो जाति र मेरो यो क्षेत्र भन्दै लड्यौँ भने ठूलो हानी हुन्छ र देशलाई ठूलो नोक्सान पुग्छ।’

पतञ्जलीले आचार्य बालकृष्णको जन्मदिनलाई जडिबुटी दिवसका रुपमा मनाउने गरेको छ।

(सेतोपाटीबाट)