कांग्रेसले सरकारको काम अनुगमन नियमन र निर्देशन गर्न सकेन ः डा.महत

199

बीरगंज १९असोज ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व अर्थमंत्री डा. रामशरण महतले नेपाली कांग्रेसले सरकारको काम अनुगमन नियमन र निर्देशन गर्न नसकेको बताए ।
बीरगंजको नगरसभागृहमा मंगलवार नेपाली कांग्रेसका सभासद अनिल रुङ्गटाले आयोजना गरेको शुभकामना आदान प्रदान समारोहलाई सम्बोधन गर्दै डा. महतले सरकार जसरी चलेको छ त्यसमा सुधारको खाँचो रहेको बताए । सरकार पार्टीगत एजेण्डाको आधारमा हैन सहमतीको ऐजेण्डाको आधारमा अगाडि बढनु पर्ने उनको भनाई थियो । उनले सकेसम्म बिपक्षीलाई पनि सहमतीमा लिएर काम गर्नु पर्ने चर्चा गर्दै भने “क्षणीक स्वार्थबाट प्रेरीत भएर देशलाई दीर्घकालीन असर पर्ने र राष्ट्रीय स्वाभिमानमा आँच आउने काम गर्नु भएन ” । सरकारले अहिले गरिरहेको नियुक्तिहरु प्रति असहमती जनाउदै उहाँले गुटबन्दी बन्द गरेर उत्कृष्टता हासिल गर्ने मान्छेहरुलाई मात्र उचीत जिम्मेवारी दिनु पर्ने बताए ।
सरकारको काम प्रति असन्तोष ब्यक्त गर्दै पूर्व अर्थमंत्री समेत रहेका महतले दोष जती कांग्रेसको काँधमा आउने र केही राम्रो काम भयो भने त्यसको जस प्रचण्डजीले लिने अवस्था आउनु ठिक नहुने बताए । उनले पार्टीलाई गुटबन्दीबाट मुक्त गरेर शक्तिशाली पार्टीको रुपमा स्थापित गरे मात्र कांग्रेसले राम्रो गर्न सक्ने बताए । उनले राष्ट्रमा पूर्नजागरणको आवश्यकता रहेको बताउदै भाषणबाजीमा भन्दा काममा ध्यान दिने र सृजनात्मक काम गर्नेलाई प्रोत्साहन दिनु पर्ने र त्यसको अगुवाई पार्टीले गर्नु पर्ने बताए ।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सभासद फरमुल्ला मन्सुरले नेपाली जनताको ७० वर्षको चाहना बर्तमा सम्बिधान भएको चर्चा गर्दै त्यसको कार्यान्वयनमा ध्यान दिनु पर्ने बताए । उनले चुनौतीहरु छन त्यसलाई पनि सम्बोधन गर्दै समिबधानलाई सबैले आत्मसात गर्ने खालको बनाउने बताए ।
कार्यक्रममा सभासद राजेन्द्र बहादुर अमात्य,रामचन्द्र साह,मेघराज निषाद,मधु शाही, नेपाली कांग्रेस पर्साका नेता अजय द्विवेदी ,जनार्दन सिंह क्षेत्री राकेश सिंह लगायतनेताहरुको सहभागिता रहेको थियो । सभासद अनिल रुङ्गटाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन इम्तियाज आलम र स्वागत नेपाली कांग्रेस पर्सा क्षेत्र नं १ का सभापति बिजय सर्राफले गरेका थिए ।