संघाई प्रकरणमा योजनाकारलाई धरौटी, भरियालाई जेल

194

कोल्ड ट्याब्लेट बनाउन २०७० देखी २०७३ सम्म नेपाल आयात गरेको १ अर्ब ९१ करोड बराबरको २ हजार २ सय किलो स्युडोइफ्रिडिन लागुऔषध बनाउन तस्करी गरेको आरोपमा प्रहरीले संघाई समूहका प्रमुख पवनसहित नौ जनामाथी अनुसन्धान गरेको थियो । अनुसन्धानमा संघाई दाजुभाई पवन र रतन मुख्य योजनाकार देखिएका थिए ।

सोमबार थुनछेकको बहस सकिएपछि जिल्ला अदालत ललितपुरले रतनलाललाई १२ लाख धरौटीमा छाड्ने आदेश दियो भने उनीसँगै पक्राउ परेका स्युडोइफ्रिडिन व्यवस्थापन गर्ने दिलिप पंडित, मोहित हलान र भरिया बद्रीप्रसाद बन र श्याम मोक्तान तामाङलाई भने अर्को आदेश नगरेसम्म कारागारमै राख्न आदेश दिएको छ । पवन लगायतका ४ जना भने फरार छन् ।

‘रतनलालको नाममा धरौटी निस्किएको छ भने अन्य ४ जनालाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश आएको छ,’ ललितपुरका श्रेस्तेदार बाबुराम दाहालले भने, ‘रतनलाई बारा प्रहरीले उपस्थित गराउनु भनेकाले उता पठाउँदै छौं ।’

लागुऔषध नियन्त्रण ब्युरोले साउन १२ मा पण्डितलाई पक्राउ गरी अनुसन्धान गर्दा ललितपुरको प्लाष्टिक गोदाममा ४ सय ७२ किलो स्युडोइफ्रिडिन लुकाएको फेला पारेको थियो । अनुसन्धानकोक्रममा संघाई समूहको आर्य फर्माले मगाएको सो रसायन डाइभर्सन गरी भारत र चीन तस्करी हुने गरेको खुलेपछि लागुऔषध अभियोगमा अुनसन्धान अगाडि बढाएको थियो ।इकान्तिपुरले खवर लेखेको छ