‘पत्रकार कुटिनु अभिव्यक्ति स्वतन्त्रतामाथिको हमला’

31

Kabin-Adhakari,-Photo-Journalist-of--Nepal,-Journalist_416862302

महासंघ र फोटो पत्रकार क्लबको आपत्ति

काठमाडौं: नेपाल पत्रकार महासंघ र फोटो पत्रकार क्लबले सिंहदरबार भित्रै पत्रकार कुटिएकोप्रति कडा शब्दमा आपत्ति जनाएका छन्। अनलाइन खबरका फोटो पत्रकार कविन अधिकारीलाई आइतबार प्रहरीले सिंहदरबार भित्रै कुटपिट गरेकोप्रति महासंघ र क्बले आपत्ति जनाउदै विज्ञप्ति मार्फत प्रहरी ज्यादतीको विरोध गरेका हुन्।
महासंघका महासचिव उजिर मगरले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘समाचार संकलनको क्रममा अनलाइन खबरका फोटो पत्रकार कविन अधिकारीमाथि प्रहरीले कुटपिट गरी घाइते बनाएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ।’
विज्ञप्तिमा पत्रकारमाथिको आक्रमण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हमला भएको उल्लेख गरिएको छ।  पत्रकारमाथि कुटपिटमा संलग्नलाई कारबाहीको माग गर्दै विज्ञप्तिमा भनिएको छ, ‘महासंघ प्रहरी ज्यादतीको कडा शब्दमा भत्सना गर्दछ र घटनामा संलग्न प्रहरीमाथि कारबाही गरी पत्रकारलाई सुरक्षाको प्रत्याभूति दिलाउन सम्बन्धित निकायसँग माग गर्दछ।’
त्यस्तै, फोटो पत्रकार क्लबका महासचिव विकास कार्कीले जारी गरेको विज्ञप्तिमा पत्रकारमाथिको कुटपिट लोकतन्त्र र विधिको शासन सुहाउदो नभएको भन्दै कडा शब्दमा घटनाको निन्दा गरिएको छ।
 विज्ञप्तिमा भनिएको छ, ‘क्लबका सदस्य तथा अनलाइन खबरका फोटो पत्रकार अधिकारीलाई फोटो खिचेको अरोपमा लाठी र बुट बर्साउदै क्यामेरा समेत खोसेर फुटाउने प्रयास भएको छ । यो लोकतन्त्र र विधिको शासन सुहाउदो घटना होइन।’
सरकार र प्रहरी प्रशासनले पटक-पटक पत्रकारमाथि आक्रमण गर्दा जनताको सूचनाको हक र प्रेस स्वतन्त्रतामाथि नै आक्रमण भएको भन्दै विज्ञप्तिमा भनिएको छ, ‘पत्रकारमाथिको आक्रमण जनताको सूचनाको हक र प्रेस स्वतन्त्रतामाथिको आक्रमण हो। अपराधमा संलग्नलाई कारबाहीमो माग गर्दछौँ ।’
पत्रकारिता पेशाको सम्मान गर्न समेत सरकारलाई विज्ञप्ति मार्फत क्लबले सचेत गराएको छ। ‘पत्रकातिा पेशाको सम्मान गर्न सरकार र सबै सुरक्षा निकायलाई सचेत गराउदछौँ,’ विज्ञप्तिमा भनिएको छ।
आइतबार निजामती कर्मचारी आधिकारिक ट्रेड युनियनको निर्वाचनको प्रक्रिया विरुद्ध आन्दोलनरत कर्मचारीको फोटो खिच्ने क्रममा पत्रकार अधिकारी प्रहरीबाट कुटिएका हुन्।
सिंहदरबार भित्रको सामान्य प्रशासन मन्त्रालय परिसरमै अधिकारीलाई प्रहरीले घेरा हालेर कुटेको छ।  प्रहरीको कुटाइबाट पत्रकार अधिकारीको दाहिने खुट्टामा चोट लागेको र अहिले बुद्धनगरस्थित हेम्स अस्पतालमा उपचार भइरहेको छ।