एमाओवादीसंग पार्टी एकता असम्भव :गजुरेल

32

cp-gajurel

काठमाडौँ, ३० बैशाख – नेकपा क्रान्तिकारी माओवादीका उपाध्यक्ष सिपी गजुरेलले एकीकृत नेकपा (माओवादी) पार्टीसँग तत्काल पार्टी एकता गर्ने सम्भावना नरहेको बताएका छन। 

पार्टी महासचिव रामबहादुर थापा ‘बादल’ को एउटा समूह पार्टी फुटाएर एकतामा गए पनि सिङ्गो पार्टी भने एकताको पक्षमा नरहेको उनले बताए ।

रिपोर्टर्स क्लबद्वारा आयोजित साक्षात्कारमा उपाध्यक्ष गजुरेलले भने ‘पार्टी एकताका लागि विचार, रणनीति, राजनीति र कार्य्विधि मिल्नुपर्छ, तर पार्टी एकताबारे अध्यक्ष मोहन वैद्यसँग अनौपचारिक बैठक भए पनि औपचारिक रूपमा वार्ता समिति समेत गठन भएको छैन । ’

बुधबार एकीकृत नेकपा (माओवादी) बैठकले वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी, मातृका नेतृत्वको माओवादी र मणि थापा नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीलगायत माओवादी पार्टीसँग एकता प्रक्रिया अघि बढाउने औपचारिक निर्णय गरेको थियो ।

एमाओवादी नेतृत्वले आफ्नो पार्टी फुटाउन खोजेको आरोप पनि लगाएका छन । पार्टीको नीति विपरीत पार्टी फुटाएर गए पनि महासचिव बादललाई कारबाही गर्नेबारे भने कुनै निर्णय नभएको उपाध्यक्षको भनाइ छ ।

जतिसक्दो चाँडो पार्टी एकताको पक्षमा रहेका महासचिव थापा समूहले जेठ २ गतेको बैठकमा अध्यक्ष वैद्यसँग अन्तिम पटक छलफल गर्ने भन्दै कुरिरहेको छ ।

तत्कालका लागि कार्यगत एकता भएपनि दीर्घकालीन रूपमा वामपन्थी दलबीच एकता हुन सक्ने उनकोे भनाइ छ । एक प्रश्नको जवाफमा उनले अब आफ्नो पार्टीले नयाँ जनवादी क्रान्ति गर्ने बताए ।