मुहम्मद अलीको ७४ वर्षको उमेरमा निधन

    46

    Muhammad-Ali-016

    काठमाडौँ, २३ जेष्ठ – विश्व बक्सिङका लेजेण्ड मुहम्मद अलीको ७४ वर्षको उमेरमा निधन भएको उनको परिवारको प्रवक्ताले बताएका छन्। श्वासप्रश्वासमा समस्या रहेको अली केही दिनदेखि अरिजोना राज्यस्थित अस्पतालमा उपचार गराइरहेका थिए।

    पूर्व विश्व हेभिवेट च्याम्पियन अली ३२ वर्षदेखि पार्किन्सन रोगसँग लडिरहेका थिए।

    कासिउस मार्केलुस क्लेमा १९४२ जनवरी १७ मा जन्मेका अलीले सन् १९६० मा रोममा भएको ओलम्पिककमा लाइट हेभिवेटतर्फ गोल्ड मेडल जितेपछि चर्चामा आएका थिए।

    दि ग्रेटेस्ट उपनामले परिचित अमेरिकन बक्सर अलीले सन् १९६४ मा सन्नी लिस्टोनलाई पराजित गर्दै २२ वर्षको उमरेमै पहिलो वर्ल्ड टाइटलको उपाधि जितेका थिए। त्यसपछि तीन वर्ल्ड हेभिवेट टाइलको उपाधि जितेका अली यस्तो उपलब्धी हात पार्ने पहिलो बक्सर बनेका थिए।

    ६१ व्यावसायिक भिडन्तमा प्रतिस्पर्धा गरेका अलीले ५६ बाउट आफ्नो पक्षमा पार्दा ५ पटक मात्र पराजित भएका थिए। सन् १९८१ मा सन्यास लिएका अलीलाई १९९९ मा स्पा्ेर्ट्स इलुस्ट्रेटेडले स्पोर्ट्स म्यान अफ दि सेन्चुरीको सम्मान गरेको थियो भने बीबीसीले स्पोर्टस् पर्सन अफ दि सेन्चुरी अवार्डले सम्मान गरेको थियो।

    अलीलाई सन् १९९० मा इन्टरनेशनल बक्सिङ हल अफ फेमबाट सम्मान गरिएको थियो।

    सन् १९७१ मा अली र जो फ्रेजरसँगको भिडन्तलाई फाइट अफ दी सेन्चुरीको नामले परिचित छ, जुन अलीले १५ औं राउण्ड पछि हारेका थिए। यो अलीले हारेको पहिलो खेलसमेत थियो।

    त्यसको तीन वर्षपछि १९७४ मा अलीले फ्रेजरलाई पराजित गरेका थिए । जसलाई रम्बल इद द जंगल, थ्रीला इन मनिला जस्ता नामले विश्वभर चिनिन्छ । यस्तै उनको फ्लोट लाइक बटरफ्लाई, स्टिङ लाइक अ बी भनाई पनि चर्चित रहेको छ ।

    चार पटक वैवाहिक बन्धनमा बाँधिएका अलीका ७ छोरी र २ छोरा छन्। अलीको तेस्रो श्रीमतीबाट जन्मिएकी दोस्रो छोरी लइला अली सुपर मिडिलवेट क्याटेगोरीमा अहिलेसम्म अपराजित छिन्।