आईसीसीले आफै हेर्न थाल्यो नेपाली क्रिकेट टिमलाई

47

Nepal-Cricket

काठमाडौ, २४ जेष्ठ – नेपाल क्रिकेट संघ (क्यान) लाई निलम्बन गरेको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई आफैले हेर्न थालेको छ ।

आईसीसीले विश्व क्रिकेट लिग च्याम्पियनपसिप अन्तरगत नेदरल्याण्डसँग हुने खेलको तयारी थाल्न निर्देशन दिएको छ । त्यसको सम्पूर्ण जिम्मेवारी निलम्बित क्यानकी कार्यकारी अधिकृत सीईओ भावना घिमिरेलाई दिएको छ ।

आईसीसीका ग्लोबल डेभलोपमेन्ट म्यानेजर टिम एण्डरसनले क्रिकेट संघको निर्वाचित समिति, तदर्थ समिति र राष्ट्रिय खेलकुद परिषद् राखेपलाई पठाएको पत्रमा नेदरल्याण्डसँगको खेलका लागि आफ्नो मातहतमा रहेर स्थानीय स्तरमा समन्वय गर्ने जिम्मेवारी सीईओ घिमिरेलाई दिइएको उल्लेख छ ।

आईसीसीले खेलाडी छनोटको जिम्मा कप्तान पारस खड्का र प्रशिक्षक जगत टमाटालाई दिएको छ । त्यस्तै भारतका पूर्व खेलाडी राजु बैंकटपतिलाई सल्लाहकारको भूमिका दिएको छ ।

नेदरल्याण्ड टुरका लागि आश्वयक रकम आईसीसीले नै उपलब्ध गराउनेछ । र, यो आईसीसीले नेपाल क्रिकेट संघ क्यानको रोक्का रकमबाट पनि हुन सक्ने पत्रमा उल्लेख गरिएको छ ।

विश्व क्रिकेट लिग च्याम्पियनपसिप अन्तरगत नेपालले साउन २९ र ३१ गते नेदरल्याण्डसँग उसकै घरेलु मैदानमा खेल्ने छ । यसअघि नेपालले साउन ४ गते मेरिलिबोन क्रिकेट क्लब (एमसीसी) सँग लर्डसमा खेल्नेछ ।