भद्र सहमति भएको हो, बजेट पारित भएपछि लागू हुन्छः प्रचण्ड

33
फाइल तस्बिर
फाइल तस्बिर

पोखरा. २४ जेष्ठ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी ओलीसँग सरकार परिवर्तनबारे भद्र सहमति भएको बताएका छन् ।

प्रचण्ड–ओलीबीच बजेट लगत्तै प्रचण्डलाई सरकारको नेतृत्व दिने भद्र सहमति भएको चर्चा चलिरहे पनि प्रचण्ड स्वयंले भद्र सहमतिबारे यसअघि मुख खोलेका थिएनन् । उनले संविधान कार्यान्वयन र पुनर्निर्माणका लागि पनि राष्ट्रिय सहमति आवश्यक हुने र राष्ट्रिय सहमति आफ्नो नेतृत्वमा सम्भव रहेको बताउँदै आएका थिए ।

कास्कीको पोखरामा सोमवार विहान भएको पत्रकार भेटघाटमा प्रचण्डले प्रधानमन्त्री ओलीसँग भद्र सहमति भएको र बजेट पारित भएपछि सहमति लागू हुने पनि बताए ।

केही समयअघि सरकार परिवर्तन हुने कुराले देशमा ल्याएको तरंग प्रधानमन्त्री ओलीसँगको नौ बुँदे सहमतिपछि रोकिएको र त्यसपछि अर्को भद्र सहमति भएको प्रचण्डले स्पष्ट गरे ।

लागू नगरे सहमति तोडिन्छ

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले दुई पक्षबीच भएको भद्र सहमति भएको लागू नगरिए आफूहरुबीच भएको सहमतिहरु पनि तोडिने चेतावनी दिए ।

भद्र सहमति दुई पक्षबीचको विश्वास र समझदारीमा भएको उल्लेख गर्दै सहमति पालना नगरे एमालेसँगको सहमति तोडिने उनले बताए । उनले आफू पनि भद्र भएको र प्रधानमन्त्रीलाई पनि भद्र नै लागेको उल्लेख गरे । प्रचण्डले यति भनिसकेर सबै कुरा अहिल्यै सार्वजनिक गर्न नमिल्ने समेत बताए ।

राष्ट्रिय सहमति बन्ने विश्वास

भूकम्पपछिको पुनर्निर्माण, संविधान कार्यान्वयन, संविधान जारीपछिको मधेसी, आदिवासी, जनजातिको असन्तुष्टिलाई सम्बोधन गर्न राष्ट्रिय सहमति आवश्यक रहेकोमा उनले पुनः जोड दिए । उनले आफ्नो नेतृत्वमा राष्ट्रिय सहमति बन्ने समेत विश्वास ब्यक्त गरे ।

बैशाखको तेस्रो साता नेपाली कांग्रेसको सहयोगमा सरकारको नेतृत्व लिने तयारी गरेको केही समयमै निर्णय बदल्दै प्रधानमन्त्री ओलीसँग नौं बुदे सहमति गरेका थिए । सार्वजनिक भएको नौं बुँदे सहमतिमा ओली नेतृत्वको सरकारलाई बजेट ल्याउन दिने उल्लेख छ ।