मधेसी मोर्चासहित सङ्घीय गठबन्धनका नेताहरु रिले अनशनमा

31

timthumb (1)

काठमाडौँ, २५ जेठ – आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहितको सङ्घीय गठबन्धनले आन्दोलनको स्वरुप परिवर्तन गरी रिले अनशन थालेको छ।

विभिन्न चरणमा तराई र काठमाडौँमा विरोधका कार्यक्रम गर्दै आएको गठबन्धन म‌गलबार बिहानदेखि खुलामञ्चमा अनशनमा बसेको हो। विगतदेखि उठाउँदै आएका आफ्ना माग सरकारले सम्बोधन नगरेपछि थप दबाबस्वरुप अनशन बसेको गठबन्धनले जनाएको छ।

गठबन्धनले गत महिनाको पहिलो हप्तादेखि राजधानीकेन्द्रित आन्दोलन थालेको थियो। सङ्घीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले सरकारले गठबन्धनले राखेका माग सुनुवाइ नगरेपछि रिले अनशन बसेको बताए। रिले अनशनमा मोर्चाका शीर्ष नेता उपेन्द्र यादव, अशोककुमार राई, रेणु यादव, शरत्सिंह भण्डारी लगायतको सहभागिता छ।

जारी संविधानमा सङ्घीय प्रदेश सीमाङ्कन लगायत विषयमा असन्तुष्टि जनाउँदै आएको गठबन्धनमा मोर्चासहित २९ दल आबद्ध छन्। प्रत्येक दिन एक दलबाट एक जनाका दरले अनशन बस्ने गठबन्धनले जनाएको छ। रासस