एसएलसी नतिजा भोलि अाउँदै, ग्रेस कसैले नपाउने, कोही फेल नहुने: परीक्षा नियन्त्रण कार्यालय

37

काठमाडौँ, ०१ असार – एसएलसी परीक्षाको परीक्षाफल भोलि बिहीबार सार्वजनिक हुने भएको छ। एसएलसी सुरुवातको ८२ वर्षपछि पहिलो पटक परीक्षा नियन्त्रक कार्यालय सानोठिमीले ग्रेस माक्र्स दिने ब्यवस्था हटाउँदैछ।

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले भोलि बिहीबार सार्वजनिक गर्ने एसएलसी नतिजा अक्षरांकन पद्धतिमा प्रकासित हुने भएपछि विद्यार्थीहरु उत्तीर्ण वा अनुत्तीर्ण नहुने भएकोले ग्रेस माक्र्सको व्यवस्था हटाइएको परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले नागरिकन्युजलाई बताए।

गत वर्षसम्म नतिजा प्रकाशनको समयमा एसएलसी परीक्षा समिति बोर्ड बैठकले निर्णय गरी बढीमा दुई विषयमा ५ नम्बर ग्रेस माक्र्स थपेर विद्यार्थीलाई पास गराउँदै आएको थियो। परीक्षा नियन्त्रक काप्रीका अनुसार बिहीबार प्रकाशित हुने एसएलसी नतिजा ७ तहको अक्षरांकन प्रणालीबाट हुनेछ। त्यसका लागि टर्निङ पोइन्ट २० देखि ९० प्रतिशतसम्म भएकोले ग्रेस नम्बर दिन नमिलेको हो। गत वार्षसम्म एसएलसीको उत्तीर्ण प्वाइन्ट ३२ मात्र थियो । विगतमा टर्निङ प्वाइन्ट ३२ हँदा ५ नम्बर ग्रेस दिँदा २७ नम्बर ल्याउनेले लाभ लिन्थे।

‘विहिबार प्रकासित हुने एसएलसी नतिजा अक्षराङ्कन प्रणालीबाट हुँदा यसमा उत्तीर्ण अनुत्तीर्ण भन्ने हुँदैन,’ परीक्षा नियन्त्रक काप्रिले नागरिकन्युजसँग भने ‘त्यसैले ग्रेस नम्बर थप्ने ब्यवस्था हटाइएको हो।’

बढीमा दुई विषयमा डि र ई प्राप्त गर्ने परीक्षार्थीले सोही वर्ष ग्रेड वृद्धिको लागि ‘ग्रेड वृद्धि’ परीक्षा दिन सक्नेछन्। एसएलसी परीक्षाको सुरुवातको ८२ वर्षपछि पहिलो पटक यस वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको मापदण्डका आधारमा नतिजा ग्रेडिङ प्रणालीबाट गर्दैछ।

विद्यार्थीले एसएलसीको नतिजापछि प्राप्त गरेको एसएलसी ग्रेड सिटमा बढीमा दुई विषयमा डि र ई अक्षरांकन छ भने उसले एक पटकलाई मौकाको रुपमा ग्रेड बृद्धि गर्न ग्रेडबृद्धि परीक्षा दिन सक्ने ब्यवस्था पनिकाले गरेको हो।

‘परीक्षार्थीले ग्रेडसिटाम बढीमा दुई विषयमा डी र ई वा डी र डी,वा ई र ई प्राप्त गरेको छ भने उसले एक पटकलाई आफनो ग्रेड वृद्धि गर्न सोही वर्ष ग्रेडवृद्धि परीक्षामा सामेल हुनसक्ने नयाँ ब्यवस्था गरिएको छ,’ परीक्षा नियन्त्रक काप्रीले भने। पहिले फेल विद्यार्थीलाई एक वर्ष खेर जान नदिन पास गराउने पुरक परीक्षा हुन्थ्यो। अब फेल र पासको प्रवधान हटाइएको अवस्थामा यो नयाँ व्यवस्था गरिएको हो।

यसैगरी दुई भन्दा बढी विषयमा डि र ई प्राप्त गर्ने परीक्षार्थीहरुकोलागि अर्को वर्षको मूल परीक्षामा सामेल हुने व्यवस्था समेत पनिकाले गरेको छ। विद्यार्थीले आफू अनुकुल हुनेगरी कुन परीक्षा रोज्नेमा भर पर्ने समेत उनले प्रष्ट्याए।

एसएलसी नतिजा पत्रिकामा नआउने

यो वर्षदेखि एसएलसी परीक्षाको परीक्षाफल पत्रिकामा प्रकाशन गरिने छैन। ६ लाख सहभागी सबै पास हुने हुँदा सबैको सिम्बोल नम्बर पत्रिकामा छाप्न गाह्रो हुने भकाले वेबसाइट तथा एसएमएसमार्फत् पनिाकाले रिजल्ट प्रकाशन गर्न लागेको हो।

यो वर्षको एसएसली परीक्षामा कूल ६ लाख १५ हजार ५ सय ५३ जना सहभागी छन्। (नागरिक)