५२ प्रतिशतले बढ्यो चामल आयात, १० महीनामा १९ अर्बको आयात

55

काठमाडौँ, ५ असार – चामल किन्नमात्र मुलुकले हरेक महीना साढे १ अर्ब रुपैयाँभन्दा बढी खर्चने गरेको छ । धान उत्पादन पर्याप्त गर्न नसक्दा देशबाट चामलकै लागि ठूलो रकम बाहिरिने गरेको हो । चालू आर्थिक वर्ष २०७२/७३ को १० महीनामा रू. १८ अर्ब ८६ करोडको चामल आयात भएको नेपाल राष्ट्र बैङ्कको तथ्याङ्कमा उल्लेख छ । उक्त आयात गत आवको सोही अवधिको भन्दा ५२ प्रतिशत बढी हो । गत आवको समीक्षा अवधिमा रू. १२ अर्ब ४० करोडको चामल आयात भएको थियो ।

देशको मागअनुसार उत्पादन हुन नसक्नुका साथै नेपालीको खानामा विविधीकरण नहुनाले पनि चामल आयातमा उल्लेख्य वृद्धि भएको कृषि विकास मन्त्रालयको भनाइ छ । आप्mनो देशमा उत्पादन हुने वस्तु उपभोग गरेमा चामल आयात कम गर्न सहयोग मिल्ने मन्त्रालयले बताएको छ ।  मन्त्रालयले बढ्दै गएको चामल आयातलाई न्यूनीकरण गर्न धान उत्पादनसम्बन्धी विभिन्न कार्यक्रम लागू गरेको छ । तर, कृषि उत्पादन मौसममा भर पर्ने भएकाले चाहेजस्तो उत्पादन वृद्धि गर्न नसकेको मन्त्रालयका सहप्रवक्ता शङ्कर सापकोटाले बताए ।

गत आवमा भूकम्प तथा नाकाबन्दीका कारण देश असहज परिस्थितिबाट गुज्रिनुका साथै १० दशमलव २ प्रतिशत धानको उत्पादन घटेकाले आयातमा वृद्धि भएको हो । त्यसो त अघिल्ला वर्षहरूमा नेपालमा खाद्यान्न बचत हुँदाहुँदै पनि चामल आयात हुने गरेको सापकोटाले बताए ।

‘चामल आयातलाई न्यूनीकरण गर्न नेपालीको खानपानमा परिवर्तन गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘चामलै खानुपर्ने बानीले गर्दा नेपाली रुपैयाँ विदेशिएको हो ।’ यसले परनिर्भरतालाई बढाएको छ ।

पछिल्लो समय नेपालमा उत्पादन गर्नुभन्दा विदेशबाट आएको रेमिट्यान्सले किनेर खाने प्रवृत्ति बढ्दै गएकाले आयातलाई प्रोत्साहन मिलेको हो । उत्पादनमा लाग्नुपर्ने युवा जनशक्ति विदेश पलायन हुनाले पनि उत्पादन घट्दा आयात बढ्न गएको हो । सरकारले जतिसुकै नयाँ कार्यक्रम ल्याएर उत्पादन बढाउन अर्बौं खर्च गरे पनि आधुनिक खेती प्रणाली र उन्नत बीउबिजनको प्रयोग हुन सकिरहेको छैन । उर्वरभूमि घरले ढाकिसकेको छ ।

नेपालमा अहिले भौगोलिक अवस्थाअनुसार सिफारिश भएका करीब ५ दर्जन धानका बीउ लगाइने गरिएको छ । चालू आर्थिक वर्ष २०७२/७३ मा १३ लाख ६२ हजार हेक्टर जमीनमा गरिएको धानखेतीबाट ४२ लाख ९९ हजार मेट्रिक टन उत्पादन भएको छ । सो उत्पादन गत आव २०७१/७२ को भन्दा १० दशमलव २ प्रतिशतले कम हो । गत आर्थिक वर्षमा १४ लाख २५ हजार हेक्टर जमीनमा लगाइएको धानखेतीबाट ४७ लाख ८८ हजार मेट्रिक टन उत्पादन भएको थियो ।

धानको उत्पादकत्वलाई बढाउन सके पनि माग धान्न सकिने कृषिविज्ञहरूले बताएका छन् । अहिले भएको उत्पादनलाई हर्ने हो भने प्रतिहेक्टर ३ दशमलव १५ टनमात्र धान उत्पादन हुँदै आएको छ । प्रतिहेक्टर ४ टन धान उत्पादन भएमा मागको सहज आपूर्ति हुने विज्ञको भनाइ छ । आर्थिक अभियान दैनिकमा सामाचार छ ।