साउन देखी प्रशारणमा आउनेछ रियालीटी शो पहुच

49

13518114_1412174305466529_1739678120_o

वीरगंज, ७ असार – सर्च फर कमन ग्राउण्ड (सर्च) नेपालले युकेएडको आर्थिक सहयोगमा टीभी रियालिटी गेम शो ‘पहुँच’को उत्पादन कार्य धमाधम गर्दैछ । तेह्र भागको यो रियालिटी शो यही साउनबाट टेलिभिजनमा प्रसारण भएको देख्न पाइनेछ । यो श्रृंखलामा खेलका सहभागीहरुले सुरक्षासँग सम्बन्धित विभिन्न बौद्धिक कार्यका चरणहरु पार गर्दै अघि बढ्नु पर्नेछ । सहभागीहरुलाई मानव हत्या, चोरी डकैती, मानव बेचबिखन तथा तस्करी, सडक सुरक्षा जस्ता विभिन्न विषयका विज्ञ प्रहरी अधिकृतहरुले परामर्श दिँदैछन् ।

यो कार्यक्रमले सुरक्षा तथा न्याय क्षेत्रप्रति आम नागरिकको विश्वास, भरोषा र जागरण अभिवृद्धि गर्ने लक्ष लिएको छ । टेलिभिजनमा देखाइने खेलका सबै कार्यहरु नेपाल प्रहरीसँगको निकट सहकार्यमा डिजाइन गरिएका छन् । गेम शोमा प्रयोग गरिने सुराक तथा कथावस्तुहरु यथार्थमा आधारित र वस्तुपरक हुने र यसका सहभागी तथा टेलिभिजन हेर्ने दर्शकलाई यो कार्यक्रमले नेपाल प्रहरीको कामकाज बारे प्रष्ट पार्ने कुरा सर्चले जनाएको छ । प्रहरीले कामका दौरान भोग्ने कठिनाइ तथा दैनिकजसो सामना गर्नु पर्ने चुनौतिहरु बारे नागरिकमा सचेतना जगाउने उद्देश्य समेत यस कार्यक्रमले राखेको कुरा सर्चका कार्यक्रम निर्देशक युवाकरराज राजकर्णिकारले बताए । “रियालिटी शोले समाजमा शान्ति र अमन चयन कायम गर्न मदत गर्नेछ उनले भने ।

13492966_1412174315466528_274236551_n

‘पहुँच रियालिटी गेम शो’को निर्देशन चलचित्रका चर्चित निर्देशक छिरिङ रितार शेर्पाले गर्दैछन् । यो कार्यक्रममा विभिन्न सामाजिक र राजनीतिक सोच र विचार बोकेका आठ सहभागीहरु छन् । तीमध्ये तेस्रो लिङ्गी मेकअप आर्टिस्ट सोफी सुनुवार, राष्ट्रिय बास्केट बल खेलाडी माया स्याङ्तेन, पूर्व माओवादी लडाकु ज्ञानबहादुर लामा केही नामहरु हुन् । चलचित्र क्षेत्रका चर्चित कलाकर्मीहरु निश्चल बस्नेत, खगेन्द्र लामिछाने, गौरी मल्ल लगायतका सेलिब्रिटीहरु गेष्टका रुपमा कार्यक्रमा सहभागी भएको देख्न पाइनेछ । लेखक तथा अभिनेता खगेन्द्र लामिछानेका अनुसार – “पहुँच रियालिटी शोले नागरिक र प्रहरीबीच एउटा पुलको काम गर्ने छ । र नेपाली टेलिभिजनमा यस्तो कार्यक्रम आएको पहिलो पटक हो ।” कार्यक्रमकी प्रस्तोताका रुपमा अभिनेत्री ऋचा शर्मा अनुबन्धित भएकी छिन् । यो रियालिटी शोका विजेताले रु २ लाख र अन्य पुरस्कारहरु जित्नेछन् ।