तमलोपा अध्यक्षमा ठाकुर निर्विरोध निर्वाचित

33
फाइल तस्बिर
फाइल तस्बिर

नवलपरासी, ८ असार – अध्यक्ष पदमा चुनाव लड्ने घोषणा गरेका गोविन्द चौधरीको प्रस्तावमा तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष पदमा महन्थ ठाकुर निर्विरोध निर्वाचित भएका छन् । पार्टीको नवलपरासीको रामग्राममा जारी महाधिवेशनअघि विघटित केन्द्रीय तदर्थ समितिका महामन्त्री रहेका चौधरीले लामो छलफलपछि अध्यक्ष ठाकुरका लागि प्रस्तावक बनेपछि ठाकुर पार्टी अध्यक्षमा सर्वसम्मतले निर्वाचित भएका हुन् ।

पार्टी स्रोतका अनुसार विद्यानअनुसार मनोनित हुने उपाध्यक्ष पदमा मनोनयन गर्ने सहमतिपछि गोविन्द चौधरीले अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने अडानबाट पछि हटेका थिए ।

पार्टी स्रोतका अनुसार पार्टीका अन्य पदाधिकारीहरुको चुनावका लागि निर्वाचन हुने प्रायः निश्चित छ । पार्टीका वरिष्ठ उपाध्यक्ष पदमा हृदयेश त्रिपाठी र बीपी यादवले प्रतिस्पर्धा गर्दैछन् । यसअघि त्रिपाठी पार्टीको स्थापनाकालदेखि वरियताक्रममा पहिलो उपाध्यक्ष रहँदैआएका थिए ।
यसैगरी एकमात्र उपाध्यक्ष पदका लागि वृषेशचन्द्र लाल र शंकरलाल चौधरीले प्रतिस्पर्धा गर्दैछन् । लाल यसअघि पनि तदर्थ समितिका उपाध्यक्ष थिए ।

यसैगरी पार्टीका महामन्त्री पदका लागि पूर्वमन्त्री उमाकान्त झा, वृजेश गुप्ता, जङ्गीलाल यादव, जीतेन्द्र सोनल, चन्दा चौधरी र विमल श्रीवास्तव चुनावी मैदानमा छन् । महामन्त्री पदमा दुईजना निर्वाचित हुने वैधानिक व्यवस्था छ ।

यसैगरी सहमहामन्त्री पदमा कृष्णा सिँह, सुरेश मण्डल, सुरेन्द्र झा, राकेश मिश्रा, उदयकिशोर तिवारी, जयप्रकाश ठाकुर, समीम अन्सारी, जीतेन्द्र सिँह, अभिराम सिँह र महाजन यादव प्रतिस्पर्धा गर्दैछन् । सहमहामन्त्री पदमा दुईजना निर्वाचित हुनेछन् भने एकजनालाई मनोनित गरिनेछ ।
पार्टीका एकजना निर्वाचित हुने कोषाध्यक्ष पदमा अनिता यादव, कविन्द्र ठाकुर र इन्द्रराज प्रताप सिँह(गुड मर्निङ) प्रतिस्पर्धा गर्दैछन् ।

 

अध्यक्षमा महन्थ ठाकुर निर्वाचित भएको घोषणा भने अहिलेसम्म भइसकेको छैन ।