बेलायत युरोपेली युनियनमा रहने/नरहने बारे जनमतसंग्रह शुरु

    45

    लन्डन, ९ असार – रोपेली युनियनको सदस्यका रुपमा रहने वा नरहने विषयमा बेलायतमा ऐतिहासिक जनमतसंग्रह शुरु भएको छ । करिब ४,६४,९९,५३७ जनसंख्याले यस जनमतसंग्रहमा भाग लिने अनुमान गरिएको छ ।

    स्थानीय समयअनुसार बिहान ७ बजेदेखि शुरु भएको मतदान राती १० बजे बन्द हुनेछ । बेलायतको इतिहासमा यो तेस्रो राष्ट्रव्यापी जनमत संग्रह हो । करिब चार महिनाको अभियानपछि युरोपेली युनियनमा रहन चाहने र त्यसको विरोधमा रहेकाहरुबीच मतदानबाट फैसला हुनेछ ।

    जनमतसंग्रहको मतपत्रमा ‘के बेलायत युरोपेली युनियनको सदस्यको रुपमा कायम रहनुपर्छ या छाड्नुपर्छ ?’ भनेर प्रश्न गरिएको छ ।

    खसेको मत मध्ये आधाभन्दा बढी मत ल्याउनेलाई विजयी घोषणा गरिनेछ । मतदानपछि सबै ब्यालट बक्सलाई संकलन गरेर मतगणना स्थल लगिने छ । त्यहाँ ३८२ स्थानमा त्यसको गणना गरिनेछ ।

    हालसम्म दुवै पक्षबीच झिनो अन्तर रहेको छ । जनमतसंग्रहअघि गरिएको सर्वेक्षणमा छाड्ने पक्षमा ४२ र रहनुपर्नेमा ४८ प्रतिशत जनता रहेको देखाएको छ ।

    तर, ११ प्रतिशतले अझै अनिर्णित रहेको बताएकाले यही मत महत्वपूर्ण हुने आँकलन गरिएको छ ।